डा.शशांकको घरमा कांग्रेस नेताहरूको जमघट
काठमाडौँ। नेपाली कांग्रेसका पुर्व महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा.शशांक कोइरालाले घरमै आयोजना गरेको चियापान कार्यक्रममा नेताहरूको जमघट भएको छ।
जननायक स्व.विपि कोइराला पुत्र डा.शशांकले लोकतन्त्र दिवसको अवसरमा बिहिवार महाराजगञ्जस्थित निजी निवासमा चियापानको आयोजना गरेका थिए। उनी कांग्रेस भित्र स्वच्छ छवि भएका र पटकपटक सांसद भएर पनि कहिल्यै मन्त्री वा अन्य लाभको पद नलिएका नेतामा पर्छन् ।
डा.शशांकले आयोजना गरेको चियापानमा नेपाली कांग्रेस नेताहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्ण सिटौला, प्रकाशशरण महत, पुष्पा भुसाल,अम्बिका बस्नेत,दिपक गिरी लगायत पुगेका थिए।
पार्टी सभापति शेरबहादुर देउवा थाइल्यान्ड भ्रमणमा रहेकोले चियापानमा उपस्थित नभएपनी देउवा पक्षीय धेरैजसो नेताकार्यकर्ता चियापानमा उपस्थित देखिन्थे। यो चियापानले आगामी महाधिवेशनमा डा.शशांक सभापतिमा उठ्ने कुराको संकेत समेत गरेको छ। यद्यपि उनले महाधिवेशनमा उम्मेदवार हुने नहुनेबारे मुख खोलेनन् ।