संसद बैठकमा नदेखिने ओली, देउवा र प्रचण्डले लिए पुरै तलब

काठमाडौं । एक महिना सम्म पनि संसद बैठकमै उपस्थित नहुने  शिर्ष नेताहरूले नै महिनाभरको तलब भत्ता बुझ्ने गरेको तथ्य खुलेको छ। त्यसमा पनि पटकपटक प्रधानमन्त्री भैसकेका नेता नै यस्तो गर्छन् भने जनताले कोसँग के आशा राख्ने ?

जनताबाट निर्वाचित भएर गएका जनप्रतिनिधि त्यसमाथि पनि मुख्य दलकै शिर्ष नेताबाट यसरी बैठक मै उपस्थित नभै भत्ता मात्रै बुझ्ने कुराले जनमतको वेवास्ता र संसदिय व्यवस्थाकै खिल्ली उडाएको छ। संसद बैठकमा अनुपस्थित हुनेमा स्वयं प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अग्रपंक्तिमा छन् ।

प्रधानमन्त्री ओली झापा-५ बाट निर्वाचित सांसद हुन् । कांग्रेस सभापति देउवा डडेल्धुराबाट निर्वाचित सांसद हुन् भने माओवादी अध्यक्ष प्रचण्ड गोरखा-२ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् । यी शिर्ष नेता बाहेक नयाँ र बैकल्पिक भनेर आएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति रहेका स्वर्णिम वाग्ले पनि कम उपस्थित हुनेमा पर्दछन् । सभापति रवि लामिछानेको त सांसद पद नै निलम्बनमा छ।

गत माघ १८ गते शुरू भएर चैत्र १९ गते सम्म २५ दिन चलेको संसद्को हिउँदे अधिवेशनमा २७ बैठक बसेका थिए । यही अधिवेशनबाट महत्त्वपूर्ण ५ वटा विधेयक पारित पनि भए। तर, दुर्भाग्य २७ बैठक बस्दा कांग्रेस सभापति देउवा जम्मा ५ दिन उपस्थित देखिए। हुन त यहि अधिवेशनमा कांग्रेस महामन्त्री गगन थापा १२ दिन र अर्का महामन्त्री विश्वप्रकाश शर्मा जम्मा १४ दिन उपस्थित भएको देखिएको छ। थापा काठमाडौ-४ र शर्मा झापा-१ बाट निर्वाचित सांसद हुन् ।

त्यसैगरी पुर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २७ बैठक मध्य ८ दिन मात्रै संसदमा उपस्थित भएको रेकर्डमा उल्लेख छ। तर,तलब भत्ता भने पुरै समयको बुझेका छन् । संसद रेकर्डमा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड माघ महिनामा २ दिन, फागुनमा ३ दिन र चैत्र महिनामा पनि ३ दिन मात्रै बैठकमा उपस्थित भएको देखिन्छ ।

कांग्रेस सभापति र माओवादी अध्यक्ष प्रचण्डको जस्तै अवस्था प्रधानमन्त्री केपी शर्मा ओलीको पनि देखिन्छ । प्रधानमन्त्री ओली त झन् संसदलाई खासै महत्त्व दिनेमा पर्दैनन् । उनी प्रतिपक्षमा हुँदा पनि खासै संसद छिर्दैनथिए। अहिले प्रधानमन्त्री भएको बेलामा समेत उनको उपस्थिति दयनीय देखिन्छ। उनै पनि २७ मध्य जम्मा ७ दिनको बैठकमा मात्रै उपस्थित भएको रेकर्डमा देखिन्छ। यद्यपि प्रधानमन्त्री र मन्त्रीहरू संसद्मा उपस्थित हुनै पर्ने बाध्यता नियमावलीमा नभएको जानकारहरु बताउँछन् ।

संसद बैठकमा धेरै उपस्थित हुने सांसदहरु पनि छन् । त्यसमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र कांग्रेस नेता रामहरि खतिवडा पर्छन् । केसी बागलुङबाट र खतिवडा ओखलढुंगाबाट निर्वाचित सांसद हुन् । खतिवडा २७ मध्य २७ वटै र केसी २७ मध्य २६ बैठकमा उपस्थित भएको देखिन्छ।

त्यसैगरी नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी,माओवादीका देवेन्द्र पौडेल, रास्वपाकी डा. चन्दा कार्की, एमालेका दयालबहादुर शाही, कांग्रेसका दीलेन्द्र बडू, एमालेकी नैनकला थापा र कांग्रेसका पूर्णबहादुर तामाङ फागुन महिनाका सबै बैठकमा उपस्थित भएको देखिन्छ ।

उता राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन २७ मध्ये १८ वटा बैठकमा उपस्थित देखिन्छन् भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल २१ वटा बैठकमा उपस्थित भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव १७ वटा बैठकमा उपस्थित र जनमत पार्टीका अध्यक्ष सीके राउत ६ वटा बैठकमा उपस्थित भएको देखिन्छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय