फिल्ममा ‘मसला’ बन्न थाल्यो माओवादी युद्ध

नेपालमा २०५२ फागुन १ देखि तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र युद्ध अर्थात माओवादीले भन्ने गरेको ‘जनयुद्ध’ को कथा नेपाली फिल्ममा मसला बन्न थालेको छ।

हुन त माओवादी जनयुद्ध चलिरहेको बेला निर्देशक नारायण पुरीले निर्देशन गरेको ‘आगो’ माओवादी कथा मै निर्माण भएको थियो। त्यसमा अभिनेता सुशील क्षेत्री र नायिका शारङ्गा श्रेष्ठले माओवादी लडाकुको अभिनय गरेका थिए। त्यसपछि माओवादी युद्धकै कथामा चलचित्र ‘जनयुद्ध’ ‘उमा’ ‘लाल सलाम’ ‘क्रान्ति’ ‘वधशाला’ र ‘मैना’ निर्माण भए।

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि माओवादी कथामा धेरै कलाकारले अभिनय समेत गरे। माओवादी छापामारको ड्रेसमा देखिने कलाकारको सुचि लामै छ। चलेका कलाकार दयाहाङ राई,रेखा थापा देखी केदार घिमिरे (माग्नेबुढा), दिपकराज गीरी,सिताराम कट्टेल धुर्मुस ,जीतु नेपाल, ऋचा शर्मा,खगेन्द्र लामिछाने,स्वस्तिमा खड्का,सुरक्षा पन्त, मुकुन भुषाल,सुशील क्षेत्री,प्रकाश घिमिरे,दिपाश्री निरौला सम्मले माओवादी कमान्डर बनेर अभिनय गरिसकेका छन् ।

अहिले हलमा चलिरहेको ३ नेपाली चलचित्रले पनि माओवादी जनयुद्धलाई फिल्मको मसला बनाएका छन् । तर,पोष्टर,ट्रेलर र प्रचारप्रसारमा कतै पनि देखाएका भने छैनन् । माओवादी युद्धलाई मसला बनाएपनी माओवादी कथा वा पात्र प्रचारमा ल्याउदा फिल्म चल्छ कि चल्दैन भन्ने डरले होला निर्माता/निर्देशकले त्यो बिषय प्रचारप्रसारमा देखाउने आँट गरेनन् ।

गायकबाट नायक र निर्देशक भएका प्रकाश सपुतले निर्देशन गरेको चलचित्र ‘वसन्त’ मा नायिका स्वस्तिमा खड्कालाई माओवादी देखाइएको छ। तर, पोष्टर सार्बजनिक हुँदा र ट्रेलरमा त्यो लुकेको छ। जातीय मुद्दा उठाइएको भनेर टिप्पणी भएपनी स्वस्तिमालाई माओवादी लडाकु देखाउनुको रहस्य खुलेको छैन। फिल्म हेरेर मात्रै त्यो बिषय बुझ्न सकिन्छ।

त्यसैगरी अहिले चलिरहेको बहुचर्चित चलचित्र ‘पिताम्बर’मा समेत माओवादी जनयुद्धले स्थान पाएको छ। यद्यपि यसको प्रचारप्रसारमा पनि त्यो कतै देखाइएको छैन। चलचित्रमा नायिका सुरक्षा पन्त युद्ध लड्ने माओवादी कमान्डर हुन् । जसले नायक प्रदीप खड्काको आमाको भूमिका निभाएकी छन् । चलचित्रको मुख्य गुदी यसैमा छ। तर, चलचित्रमा द्वन्द्वका भयानक दृश्य देखाउदा ट्रेलरमा भने माओवादीले चौकी आक्रमण गरेको दृश्य लुकाउन निर्माण टिम सफल भएको छ। चलचित्रको बाकी कहानी हलमा पुगेपछि मात्रै थाहा होला।

अर्को चलचित्र ‘कर्मा’ पनि अहिले हलमा चलिरहेको बिग बजेट चलचित्र हो। सौरभ चौधरी निर्देशीत यो चलचित्रमा नायक विपिन कार्की,मुकुन भुषाल,उपासना सिंह ठकुरी,निर्मल शर्मा लगायत कलाकार छन् । गोप्य राखिएको कुरा के हो भने यो चलचित्रमा पनि अभिनेता मुकुन भुषाल माओवादी कमान्डर हुन् ।

जनयुद्धको बेला चौकी आक्रमण हुँदा मुकुनले कमान्डर बनेर युद्धमा प्रहरी मारेको र पछि राजनीतिमा लागेर तस्कर बनेको देखाइएको छ। यद्यपि यसको पनि पोष्टर र ट्रेलरमा माओवादी गन्ध कतै छैन। बाकी कथा के होला ? त्यो हलमा गएर हेरेपछि मात्रै बुझ्न सकिन्छ।

यसरी हरेक फिल्ममा कहिँ न कहिँ माओवादी युद्धको बाछिटा देखिएकै हुन्छ। यद्यपि युद्धको कथा वा माओवादी पात्रको कुराले फिल्म चल्दैन कि भन्ने डर निर्माता/निर्देशकमा अझै देखिन्छ। जे होस १० बर्ष चलेको सशस्त्र युद्धले पारेका सकारात्मक र नकारात्मक प्रभावलाई फिल्मले मसलाको रुपमा प्रयोग गर्न थालेका छन् । आगामी दिनमा त्यो युद्धमा भएको जनधनको क्षति र त्यसले समाजमा पारेको नकारात्मक र सकारात्मक प्रभाव बारे नयाँ पुस्ताले जान्नका लागि पनि पुरै कथामा चलचित्र बन्नुपर्ने देखिन्छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय