माओवादी प्रती प्रधानमन्त्री आक्रामक : द्वन्द्वकालका अपराधलाई माफी दिइन्न !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी सशस्त्र युद्धमा भएका जघन्य घटनामा भएका अपराधलाई माफी दिन नसकिने बताएका छन् ।
उनले संक्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने बताएका हुन्। नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनको बिहिवार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्य सम्पादन हुने बताएका हुन्।
उनले ती आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने बताउँदै अधिनायकवाद परास्त भई लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब कुनै बहकावमा लागेर हत्या, हिंसा, धार्मिक भड्काव र अराजकता स्वीकार्य नहुने बताए।
प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यक भएको र एमालेले त्यस कामको अगुवाइ गरिरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी संगठनले देश र पार्टीप्रतिको बफादारितालाई अझ बलियो बनाउनुपर्ने बताए।
अध्यक्ष ओलीले यही वैशाख ११ गते लोकतन्त्र दिवसका दिन एमालेले युवाहरूको सम्मेलन गरी जनताको अधिकार र विकासका पक्षमा उत्सव मनाउन आह्वान गरे।