प्रेमीलाई सुत्केरी भएको देखाउन बच्चा चोरी !
दैलेख । दैलेखकी एक किशोरीले भारतमा रहेका केटा साथी(प्रेमी) लाई सुत्केरी भएको देखाउन तीन महिने बालिका चोरी गर्दा पक्राउ परेकी छन् ।
उनले सुरुमा प्रेमीलाई गर्भवती भएको भन्दै आएको र समय भएपछि सुत्केरी देखाउन यस्तो गरेको खुलेको छ । जंगलबाट बच्चासहित पक्राउ परेकी १८ वर्षीया ती किशोरीले भारतमा रहेका आफ्नो केटा साथीलाई देखाउन रातको समयमा बच्चा चोरेको स्वीकार गरेकी छन् ।
किशोरी आफ्नै गाउँका एक युवकसँग प्रेममा थिइन् । ती युवक रोजगारीको सिलिसलामा भारतमा छन् । ‘यसअघि पनि किशोरीले गाउँघरमा र सामाजिक सञ्जाल टिकटक लगायतमा आफू गर्भवती छु भन्ने कुरा उल्लेख गरिएको पाइयो,’ प्रहरीले भनेको छ।
भारतमा रहेका केटा साथीलाई देखाउनकै लागि उनले बच्चा चोरी गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । उनले तीन महिनाकी बालिका चोरी गरेकी थिइन्। ‘उनले आफू गर्भवती छु भनेकी थिइन्, बच्चा जन्माएँ भनेर प्रमाणित गर्न उनले बच्चा चोरी गरेको देखिन्छ,’ प्रहरी स्रोतले भनेको छ, ‘बच्चालाई मन पराउने र माया गर्ने गरेको पनि देखिन्छ।’
उनले दैलेखको ठाटीकाँध गाउँपालिका-१ सिराडीका बमबहादुर बुढाकी तीन महिने छोरीलाई गत बिहीबार बेलुकी ९ बजेतिर घरभित्रै सुतेको समयमा चोरेर लगेकी थिइन्। त्यसबेला घरनजिकै रूखमा आगो लागेको भन्दै निभाउन बमबहादुर र उनकी श्रीमती निस्केका थिए।
जिल्ला प्रहरी प्रमुख डिएसपी सुनिल दाहालका अनुसार ती किशोरीलाई शुक्रबार बिहान ९ बजेतिर जंगलबाट नियन्त्रणमा लिइएको थियो। त्यसबेला नाबालिकालाई साथमा लिएर हिँडिरहेकी थिइन्।उनलाई त्यसैदिन दिउँसो जिल्ला प्रहरी कार्यालय दैलेखमा पुर्याइएको थियो। डिएसपी दाहालका अनुसार जिप्रका ल्याइएपछि सोधपुछ गर्ने क्रममा उनी बेहोस भएपछि उपचारका लागि अस्पताल समेत लगियो। अझै घटनाको विस्तृत कहाँनी प्रहरीले सार्बजनिक गर्नै बाकी छ। प्रहरीले सोधपुछ गर्न थालेपछि ती किशोरी पटक पटक बेहोस हुने र अस्पताल लैजानुपर्ने अवस्था देखिएको छ।
प्रहरीले चामुण्डाबिन्द्रासैनी नगरपालिका-३ को लामिडाँडा जंगलबाट बालिकाको उद्धार गरेको थियो। बालिका रोएपछि दूधको खोजीका लागि १८ वर्षीया किशोरी गाउँ पसेकी थिइन्। स्थानीयलाई शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए। बालिका हाल स्वस्थ रहेकी छन् ।