कांग्रेस सुकिला-मुकिला र पैसावालको कब्जामा जाने खतरा-डा.शेखर

काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस सुकिला-मुकिला र पैसावालाको कब्जामा पर्ने हो कि भन्ने खतरा रहेको औंल्याएका छन् । उनले कुनैपनी बहाना देखाएर महाधिवेशन सार्न नहुने पनि बताएका छन् ।

उनले राष्ट्रियता, धर्म संस्कृति र समृद्धिको लागि एकपटक फेरि नेपाली कांग्रेसमा पूर्नजागरणकाल जगाउनुपर्ने समेत बताए । नयाँ वर्ष २०८२ अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता कोइरालाले कांग्रेसका इमान्दार, निस्वार्थी र स्वाभिमानी साथीहरूको सक्रियताविना पार्टीमा इमान र नैतिकताको राजनीतिक भावधारा बगाउन सम्भव नभएको बताए ।

उनले भनेका छन्, ‘हामी सबै राजनीतिमा देखिएको विकृति विसंगतिको चर्चा गर्छौं, यसको उपचारको खोजी पार्टी भित्रबाट गर्नुपर्छ भन्ने मेरो मान्यता हो । पार्टीको अगुवाइमा क्याम्पेन फर क्लिन पोलिटिक्सको अभियान नचलाई बस्ने हो भने बीपी कोइरालाले भन्नु भए झैँ कांग्रेस पार्टी सुकिला मुकिला र पैसावालको कब्जामा जाने खतरा छ । र, म त्यो देख्दैछु ।’

कोइरालाले नयाँ वर्ष २०८२ को नारा पार्टीमा ‘क्लिन पोलिटिक्स’ भनी अगाडि नसार्दा नागरिकको विश्वास र भरोसा जित्न गाह्रो रहेको उल्लेख गरेका छन् ।उनले भनेका छन्, ‘कुशासन, भ्रष्टाचार, दण्डहीनता र अनियमितता संस्थागत भएर चुँडिदै गएको नागरिक र पार्टीको सम्बन्धलाई जोडन पार्टीभित्र शुद्धीकरण अभियान चलाउनुको विकल्प छैन । नेपालको संविधानलाई दक्षिणपन्थी भासबाट जोगाएर समसामयिक सुधार गर्दै अगाडि बढाउन कांग्रेसको तर्फबाट साथीहरू अगाडि आउनुपर्छ । यो वर्ष विधानतः कांग्रेस महाधिवेशनको वर्ष हो ।’

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय