सन् २०२४ मा १,५१८ जनालाई दिइयो मृत्युदण्ड !

विश्वभर मृत्युदण्ड दिने क्रम तीव्र गतिमा बढेको छ। एमनेस्टी इन्टरनेसनलको नयाँ प्रतिवेदनअनुसार सन् २०२४ मा कूल १ हजार ५ सय १८ जनालाई मृत्युदण्ड दिइएको छ।
यो तथ्यांक २०२३ को तुलनामा ३२ प्रतिशत बढी हो भने सन् २०१५ यताकै उच्चत हो। यद्यपि, मृत्युदण्ड दिने देशको संख्या १६ बाट घटेर १५ पुगेको छ।
एमनेस्टी इन्टरनेसनलका अनुसार विश्वमा सबैभन्दा धेरै मानिसलाई चीनमा मृत्युदण्ड दिइन्छ, तर यसको कुनै तथ्यांक उपलब्ध छैन।
चीन, भियतनाम र उत्तर कोरियामा मृत्युदण्ड धेरै सामान्य छ, तर यी देशले पनि आफ्नो तथ्यांक सार्वजनिक गर्दैनन्।
उपलब्ध तथ्यांकअनुसार, विश्वमा सबैभन्दा धेरै मृत्युदण्ड इरानमा दिइन्छ।
प्रतिवेदनअनुसार सन् २०२४ मा इरानमा कम्तीमा ९७२ जनालाई मृत्युदण्ड दिइएको छ। जसमा ३० जना महिला पनि छन्। सन् २०२३ मा यो संख्या ८५३ थियो।
इरानी मानव अधिकारकर्मीहरूले यो वृद्धिलाई आन्तरिक राजनीतिको उथलपुथलसँग जोडेका छन्।
इरानस्थित अब्दुर्रहमान बोरोमन्ड मानव अधिकार केन्द्रकी कार्यकारी निर्देशक रोया बोरोमन्डका अनुसार २०२२ मा १२ महिला र २०२३ मा २५ महिलालाई मृत्युदण्ड दिइएको छ। यीमध्ये केही महिला लागुऔषधसम्बन्धी अपराधमा दोषी ठहरिएका थिए।
सरकारको आलोचना गर्नेहरूलाई पनि निशाना बनाइएको उनको भनाइ छ।
गत वर्ष इरानको छिमेकी देश साउदी अरेबियाले ३४५ जनालाई र इराकले ६३ जनालाई मृत्युदण्ड दिएका छन्।
एमनेस्टी इन्टरनेसनलले इरान र सोमालियामा १८ वर्षमुनिका ४ जनालाई मृत्युदण्ड दिइएको जनाएको छ।
सन् २०२४ मा सार्वजनिक रूपमा फाँसी दिइने दुई देश इरान र अफगानिस्तान हुन्। बीबीसी

