स्वास्थ्य बीमा बोर्डले १६ अर्ब भुक्तानी दिन बाँकी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले १६ अर्ब ४५ करोड भुक्तानी दिन बाकी रहेको तथ्यांक सार्वजनिक गरेको छ।

बोर्डले सार्वजनिक गरेको ४५ बुँदे श्वेत पत्र अनुसार सेवा प्रदायक स्वास्थ्य संस्थालाई बीमा बापतको १६ अर्ब ४५ करोड रकम भुक्तानी गर्न बाँकी देखिएको हो। त्यसैगरी यो आर्थिक वर्षको अन्तिमसम्ममा भुक्तानी गर्नुपर्ने रकम २४ अर्ब हुनसक्ने पनि बोर्डले जानकारी दिएको छ। यद्यपि बोर्डको खातामा जम्मा जम्मी १ अर्ब मात्रै देखिएको छ।

बोर्डले पत्रकार सम्मेलनमार्फत जारी गरेको श्वेतपत्रमा बोर्डको कोषमा चालु आर्थिक वर्षको फागुनसम्ममा जम्मा एक अर्ब रकम रहेको उल्लेख छ।

आम्दानी र खर्चबीचको अन्तर निरन्तर फराकिलो हुँदै गएको बोर्डले जनाएको छ। ‘चालु आर्थिक वर्षमा बोर्डले जम्मा २६ अर्ब ५९ करोड बजेट स्वीकृत गरेको छ तर प्राप्त हुने रकम स्वीकृत बजेटको एक तिहाईमात्र हुने देखिन्छ,’बोर्डले सार्वजनिक गरेको श्वेत पत्रमा उल्लेख छ।

यो वित्तीय असन्तुलनले बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपनामा कायम राख्न कठिन देखिएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ। बोर्डका अनुसार सेवा प्रदायकलाई भुक्तानी दिने रकम मासिक करिब दुई अर्ब थपिने गरेको छ।

प्रत्येक वर्ष कोषले घर भाडाबापत दुई करोड ३४ लाख भुक्तानी दिँदै आएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ। यो रकम बोर्डले केन्द्रीय कार्यालय रहेको नेपाल औषधी लिमिटेड र ७७ वटै जिल्लामा रहेका शाखालाई तिर्ने घरभाडा बापतको रकम हो।

कर्मचारीको तलब भत्ता तथा दर्ता सहयोगी प्रोत्साहन बापत बर्सेनि करोडौँ भुक्तानी गर्ने गरेको र यस्तो रकम निरन्तर बढ्दै गएको बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए।

बोर्डले आर्थिक वर्ष २०८०-०८१ को अन्तिम लेखा परीक्षणको अवधिसम्म बोर्डको बेरुजु दुई अर्ब ८५ करोड २४ लाख ८९ हजार चार सय ९५ देखिनु चुनौतीपूर्ण रहेको जनाएको छ।

‘बोर्डको वार्षिक आन्तरिक आम्दानीको ७५ प्रतिशत बेरुजु देखिनु आफैमा चुनौतीपूर्ण छ,’बोर्ड सार्वजनिक गरेको श्वेतपत्रमा उल्लेख छ। त्यसैगरी बोर्डका अध्यक्ष चन्द्रबहादुर थापा क्षेत्रीले चुनौतीलाई चिर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक हुने तर्क गरे।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय