चलचित्र ‘कर्मा’ चैत २९ मै प्रदर्शन हुने

आजको दिनमा नेपाली चलचित्र निर्माणको धार भन्दा बेग्लै भनिएको चलचित्र ‘कर्मा’ पनि नयाँ बर्ष २०८२ को अवसरमा २०८१ चैत २९ गतेदेखी प्रदर्शन हुने भएको छ।

यसअघि ‘अगस्त्य’ निर्देशन गरेका निर्देशक सौरभ चौधरीको निर्देशनमा बनेको चलचित्र ‘कर्मा’का कलाकारले पनि यसलाई अन्य चलचित्र भन्दा फरक रहेको बताएका छन् । स्टोरी र न्यारेसन दुबैका हिसाबले चलचित्र ‘कर्मा’ अहिले प्रदर्शनमा आइरहेका भन्दा फरक रहेको दाबी उनीहरुको छ।

कलाकार मुकुन भुषालले पनि ‘कर्मा’ आइरहेका चलचित्रभन्दा फरक रहेको बताए। निर्देशकले फरक शैलीमा कथा भन्न खोजेको उनको बुझाइ छ। हरेक कलाकार र निर्देशकले रिलिजअगाडि आफ्नो चलचित्र फरक रहेको बताउने गरे पनि ‘कर्मा’ भने साँच्चै नै फरक रहेको उनको मुकुनको दाबी छ ।

अभिनेता विपीन कार्कीले त यो चलचित्र बबाल नै रहेको प्रतिक्रिया दिएका छन् ।उनले यसमा फरक लुक्स र एक्सन भूमिका निभाउन पाएको भन्दै निर्देशक चौधरीको तारिफ पनि गरेका छन् ।

अर्का कलाकार दिव्यदेव पनि चलचित्रबाट आशावादी छन् ।
त्यसैगरी सरिता गिरीले निर्देशक सौरभ चौधरीले आफूलाई सिनेमामा आमा होइन क्यारेक्टर चाहिएको भनेर अफर गरेको स्मरण गरिन् । ‘उहाँले अफर गर्दाको यो लाइनले नै मलाई टच गरेको थियो,’ उनले भनिन्, ‘चलचित्रमा क्यारेक्टर पनि त्यस्तै छ ।’

नायिका उपासना सिंह ठकुरीले आफूलाई ‘कर्मा’प्रति सधैँ विश्वास रहेको बताएकी छन् । त्यसैले यसमा एक्सन भूमिकामा काम गर्ने विपीन कार्कीप्रति पनि विश्वास रहेको बताइन् ।
चलचित्रमा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतको अभिनय रहेको छ ।

‘कर्मा’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय