नजरबन्द हुँदा पनि धम्क्याउँदै नवराज सुवेदी

काठमाडौ। हिंसात्मक राजावादी आन्दोलनका लागि संयोजक तोकिएका ८६ बर्षिय नवराज सुवेदी अहिले नजरबन्दमा छन् । पुर्व पन्च सुवेदीको वृद्ध अवस्था र स्वास्थका कारण पक्राउ नगरी नजरबन्द मात्रै गरिएका सुवेदीले भने अझै धम्क्याउन छाडेका छैनन् ।
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक रहेका सुवेदी र कमान्डर रहेका दुर्गा प्रसाईंकै कारण हिजोको हिंसामा २ जनाको ज्यान गयो। त्यसलगत्तै ज्ञानेन्द्र शाहलाई लक्षित गरि प्रकाशित समाचारलाई लिएर सुवेदीले विरोध गरेका छन्।
शनिबार बिहान विज्ञप्ति जारी गर्दै सुवेदीले पूर्वराजा ज्ञानेन्द्रलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचारहरू बाहिर आएकाले त्यस अनुरूप कदम चाल्ने प्रयास भएमा देशभरबाट आम नागरिकहरू स्वतःस्फूर्त विरोधमा उत्रने चेतावनी दिएका छन्।
चैत्र १५ गते दिउँसो ११ बजेदेखि काठमाडौँको तीनकुनेमा आयोजना गरिएको आन्दोलन घोषणा सभामा सङ्घर्ष समितिका पदाधिकारी, केन्द्रीय नेताहरू मञ्चमा पुगेर सभालाई सम्बोधन गर्न नपाउँदै सरकार पक्षबाट नियोजित घुसपैठ गराइएको आरोप पनि सुवेदीले लगाएका छन् । त्यसपछि प्रहरी दमनका कारण सभा बिथोलिएको उनको भनाइ छ।
आन्दोलनका कमान्डर दुर्गा प्रसाईँ लगायतलाई पक्राउ पुर्जी जारी गर्ने, कार्यक्रम पश्चात् जनआन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्र, आन्दोलन परिचालन संयोजक धवल शमशेर राणा तथा प्रवक्ता अधिवक्ता स्वागत नेपाल लगायतलाई पक्राउ गर्ने र आफूलाईसमेत घरमै नजरबन्दमा राख्ने कार्य भएको सुवेदीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

