कसरी भयो राजावादी आन्दोलन ‘हाइज्याक’ ?

यतिबेला राजावादीहरुको आन्दोलन चलिरहेको छ।खासमा यो चैत महिना आन्दोलनको ‘सिजन’ पनि हो। सिजनको बेला एकाध खेती लगाउन खोज्नु अन्यथा होईन । केही गणतन्त्रवादी भनिने दल पनि आन्दोलन मै छन् ।
तर, अचम्मको कुरा चाहिँ के छ भने राजावादी आन्दोलन अर्थात राजा र राजसंस्था फर्काउने आन्दोलनको ठेक्का पाएका असली ठेकेदार भन्दा फरक ब्यक्तिले अहिले आन्दोलन हाँक्ने जिम्मेवारी पाएको देखिन्छ। २०४६ सालपछि राजसंस्थाकै पक्षमा लागेर पार्टी खोल्ने लोकेन्द्रबहादुर चन्द, बुद्धिमान तामाङ, पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी, केसर बहादुर बिष्ट, दिपक बोहराले यो आन्दोलन गरिरहेका छैनन् । उनीहरुको सुभेच्छा भएपनी अग्रमोर्चामा उनीहरु देखिँदैनन् ।
त्यसपछि राजतन्त्रकै निम्ति लाठी ढुंगा खाने कमल थापाको समूहले पनि यो आन्दोलनको नेतृत्व गरिरहेको छैन। वा, २०६२/०६३ पछि राजा ल्याउने अभियान बोकेर हिंड्ने राजेन्द्र लिङ्देन र पछिल्लो समय राजा नै चाहिन्छ भन्ने रविन्द्र मिश्र,ज्ञानेन्द्र साही र रमा सिंहले पनि यो आन्दोलनको नेतृत्व गरिरहेका छैनन् ।
अहिले यी सबैलाई चकित पार्ने गरि कुनैबेलाका माओवादी र त्यसपछि एमालेको राजनीतिमा जोडिएका झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अहिले आन्दोलनको कमान्ड सम्हालेर अगाडि बढिरहेका छन् । उनले ती पुराना राजावादीबाट राजा फर्काउने आन्दोलन ‘हाइज्याक’ गर्न सफल भएका छन् । यसमा उनले ७८ बर्षिय ज्ञानेन्द्र शाह र ८६ बर्षिय पुर्वपन्च नवराज सुवेदीको साथ पाएका छन् ।
खासगरी २०७४ र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष एवं हालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भोट साटेर गणतन्त्र कै संसद छिरेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र २०७९ को निर्वाचनमा एमालेकै सुर्य चुनाव चिन्ह लिएर चुनाव लडेका कमल थापालाई ज्ञानेन्द्रले मात्रै होइन पुर्व पन्चहरुले रुचाएका थिएनन् । गणतन्त्र मै संघीय सरकारको उपप्रधानमन्त्री बन्ने र प्रदेश खारेजको मुद्दा लिएर फेरि प्रदेश सभामुख भैराख्ने चरीत्रका कारण राप्रपाले यो आन्दोलन गर्दैन र गरेपनी बार्गेनिङ गरेर धोका दिन्छ भन्ने बुझेरै निर्मल निवासले कमान्डर परिवर्तन गरेको चर्चा छ।
तर, २०७४ अगाडि कसैले नचिनेको एकजना माओवादी कार्यकर्ता दुर्गा प्रसाईंले एकाएक राजावादी आन्दोलन ‘हाइज्याक’ कसरी गरे ? यो प्रश्नको उत्तर कसैले दिन खोजेको छैनन् । कहिले माओवादी,कहिले एमाले,कहिले मेडिकल व्यवसायी,कहिले दुबईका राजकुमारको साथी त कहिले मिटरब्याजी पीडितको सारथि भन्दै आएका प्रसाईं अन्ततः अब निर्मल निवासको रोजाईको पात्र भएका छन् । कुनै बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भयंकर ठान्ने प्रसाईं त्यसपछि एमाले अध्यक्ष केपी ओलीलाई ‘हजुरबुबा’ साइनो लगाएर केन्द्रिय समितिमा समेत पुगे। आफ्नै पार्टीका नेता डा.भिम रावल भन्दा दुर्गा प्रसाईंलाई नजिक ठान्ने ओलीले पनि ‘नाति केटो’ बाट नराम्ररी धोका पाए। अहिले ओलीको तिनपुस्ते निकालेर उनै नाति प्रसाईंले अनेक फण्डा बाहिर ल्याउने गरेका छन् ।
राजावादी आन्दोलन ‘हाइज्याक’ गर्ने सम्मको सामर्थ्य भने दुर्गा प्रसाईंले प्रचण्ड र ओलीबाटै जुटाएका हुन् । २०७४ सालमा चर्चित ‘चरेसको थालमा मार्सी भात’ प्रकरणबाट ह्वात्तै चिनिएका प्रसाईं त्यसपछि चर्चै चर्चाले यहाँसम्म आइपुगेका हुन् । उनले २०७४ को फागुनमा आफ्नै घरमा बोलाएर ओली र प्रचण्डलाई मार्सी भात खुवाएका थिए। त्यसपछि ‘मार्सी चामल’ र दुर्गा प्रसाईं दुबै ‘ब्रान्ड’ बन्न पुग्यो। त्यसैको बलमा प्रसाईं अहिले ओली प्रचण्डलाई नै लखेटेर राजा ल्याउनुपर्छ भन्न थालेका हुन् ।
देशमा फैलिएको राजनीति प्रतिको बितृष्णा र केही नेता प्रतिको घृणालाई क्यास गरेर राजा ल्याउनुपर्ने भन्दै आन्दोलन गरिरहेका सानो तिनो जमातलाई दुर्गा प्रसाईंले कुनै कुनै उपाय लगाएर आफुतिर तान्ने प्रयास गरिरहेका थिए। सरकार परिवर्तन भैरहने,नेताले जनताको गुनासो र पिरमर्का नहेर्ने र नसुन्ने, भ्रष्टाचार र महँगी बढेको बढ्यै हुने,सुशासन नहुने अनि जुनसुकै सरकार आएपनी आफ्नै नेताकार्यकर्ता मात्रै हेर्ने जनतालाई नटेर्ने परिपाटीको फाइदा उठाउदै दुर्गा प्रसाईं जस्ता ब्यक्ति सडकमा कराउन पाएका हुन् ।
दुर्गा प्रसाईंको महत्वाकांक्षी योजना राजा ल्याउने भन्दा पनि आफैं केही हुने भन्ने हो। उनी आफुलाई फाइदा हुने कुनै प्रोजेक्ट पाएपछी यो आन्दोलनबाट साइड लाग्छन् भन्ने सबैले बुझेको छ। तर, सरकारले पनि दुर्गा प्रसाईं जस्ता ब्यक्तिलाई नै बल पुग्नेगरी अनेकथरी अलोकप्रीय काम गरिरहेको देखिन्छ। काठमाडौंका मेयर सँग जुहारी खेल्ने, आफैं अवकाश हुन लागेका कर्मचारीलाई ४ महिना अगाडी नै हटाउने जस्ता कुराले प्रसाइको मनोबल बढेको हो। जसले गर्दा उनले राजावादी आन्दोलनलाई सजिलोसँग ‘हाइज्याक’ गरेर सरकारसँग आमने-सामने गर्ने हैसियत बनाएको देखिन्छ।

