नेपाली चलचित्रको हल ‘कब्जा’

प्रदर्शन भैरहेका १० मध्य ७ नेपाली

काठमाडौं । कुनैबेला मल्टिप्लेक्स हलमा बिरलै लाग्ने नेपाली फिल्मले अहिले सबैजसो मल्टिफ्लेक्स हलमा आफ्नो दबदबा कायम राखेको छ। हाल नेपालका हलमा प्रदर्शन भैरहेका १० चलचित्र मध्य ७ वटा नेपाली चलचित्र नै छन् ।

नेपाली फिल्मकर्मीका लागि यो सुखद पक्ष हो। दर्शक र हल मालिकलाई पनि यसले सजिलो नै भएको छ। गत दसैंदेखि नेपालका हलहरुमा नेपाली चलचित्रले पकड जमाउन सकेको हो। यो बिचमा कतिपय हिन्दी र अङ्ग्रेजी भाषाका चलचित्र नेपालमा रिलिज नै गरिएन। रिलिज गरिएका मध्य पनि धेरैले टिक्नै पाएनन् । दक्षिण भारतीय चलचित्र ‘पुष्पा-२’ बाहेक अन्य हिन्दी चलचित्र हलमा धेरै समय टिकेनन् ।

केही दिनमा सलमान खानको चलचित्र ‘सिकन्दर’ प्रदर्शनमा आउन लागेको छ। त्यसको पनि नेपाली दर्शकमा धेरै उत्सुकता देखिदैन । बरु नेपाली चलचित्र पिताम्बर,नरसिंह-अवतार र वसन्त,कर्मा जस्ता चलचित्रको पर्खाइ बढी छ।

अहिले हलमा लागेका मध्य महिला फुटबल खेलाडी एन्जिला तुम्बापे लिम्बुको जिवनीमा बनेको मिलन चाम्सको चलचित्र ‘एन्जिला’, जिग्री पाडे क्रियशनको ‘लाज शरणम’, होस्टल-३, आउट ल-दफा २१९, द्रौपदी, पुर्ण बहादुरको सारङ्गी र ११:५५ छन् । यी मध्य पुर्ण बहादुरको सारङ्गी तिहारको लक्षिपूजाको दिन(कार्तिक १५) देखि प्रदर्शनरत छ। झन्डै ७८ करोड कमाई गरेको यो चलचित्र अहिलेसम्मको सबैभन्दा बढी कमाउने चलचित्र हो।

यसरी हेर्दा केही समय अघिसम्म नेपालमा हिन्दी चलचित्रको एकलौटी जस्तो ब्यापार नेपाली चलचित्रले खोस्न सकेको छ। यसको अर्थ अब नेपाली चलचित्र पनि विदेशी चलचित्र भन्दा कम छैन र निर्माण र प्रचारप्रसारमा पनि कुनै कमि गरिएको छैन भन्ने स्पस्ट हुन्छ। त्यससँगै दर्शकको मन जित्न सक्ने नेपाली परिवेश कै चलचित्र निर्माण गर्नुपर्छ भन्ने सन्देश पनि दिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय