गोकर्णेश्वरका मेयर दीपक रिसालले दिए नगरवासीलाई अर्को खुशी

काठमाडौं ।गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसालले स्वास्थ क्षेत्रमा नयाँ फड्कोसँगै नगरवासीका लागि अर्को खुशी थपिदिएका छन् ।

गोकर्णेश्वर नगरपालिका र भक्तपुरको क्यान्सर हस्पिटल बीच सोमबार ‘स्वास्थ उपचार गर्ने गराउने’ बिषय अन्तर्गत सहमति पत्रमा हस्ताक्षर भएसँगै गोकर्णेश्वरवासीका लागि स्वास्थ उपचारमा अर्को नयाँ खुशी थपिएको हो।

केही समय अगाडि गोकर्णेश्वरकै एक कार्यक्रममा उपस्थित भएका स्वास्थमन्त्री प्रदीप पौडेललाई मेयर दीपक रिसालले नगरवासीको लागि धेरै कुरा गर्न बाकी भएको सुनाएका थिए। त्यसको केही समयमै नगरवासीका लागि यो सहमति गर्न सक्नु मेयरको अर्को स्वागतयोग्य काम भएको स्थानीयको भनाइ छ।

भक्तपुर क्यान्सर अस्पतालसँगको सहमति २०८१ चैत १ देखि नै लागू हुने भनिएको छ। जसअनुसार भक्तपुर क्यान्सर अस्पतालमा उपचार गर्दा अब स्वास्थ बिमा बोर्डले तोकेको स्थायी भुक्तानी बापतको १० प्रतिशत रकम गोकर्णेश्वरवासीका हकमा भने नगरपालिकाले तिरिदिने छ ।

यसैगरी भक्तपुर क्यान्सर अस्पतालमा गोकर्णेश्वर नगरवासीले स्वास्थ जाँच तथा उपचार गर्दा कुल खर्चको १५ प्रतिशत र सिटिस्क्यान गर्नुपरेमा ३० प्रतिशत सम्म छुट हुनेछ। त्यस्तै कुल खर्चको ५० प्रतिशत रकम नगरपालिकाले शोधभर्ना बापत अस्पताललाई बुझाउने छ।

गोकर्णेश्वर नगरपालिका भित्र स्थायी बसोबास गर्ने तथा मतदानको अधिकार भएका सबैको हकमा नगरपालिकाले स्वास्थ क्षेत्रमा यसअघि घोषणा गरेका कार्यक्रमबाट समेत नगरवासीले विभिन्न सुबिधा पाइरहेका छन् भने भक्तपुर क्यान्सर अस्पताल संगको यो सहमतिले अझै मेयर दीपक रिसालको कामको प्रशंसा भएको छ।

सहमति पत्रमा हस्ताक्षर हुँदा गोकर्णेश्वरका मेयर रिसाल र उपमेयर सान्नानी लामा तथा अस्पतालका प्रशासन बिभाग प्रमुख  राजाराम तजलेको उपस्थिति थियो। सहमति पत्रमा अस्पतालको तर्फबाट डा.उज्ज्वल चालिसे र नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीले हस्ताक्षर गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय