चलचित्र ‘राजागंज’ सेन्सर पास,ओलीको बोली हटाइयो !

काठमाडौं । चलचित्र केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड)ले बर्तमान प्रधानमन्त्रीले २०७२ सालमा बोलेको क्लिप हटाएर चलचित्र ‘राजागंज’लाई प्रदर्शन अनुमति दिएको छ ।

यसअघि सेन्सर पास हुन प्रधानमन्त्रीको चिठी वा ओलीको बोली सहितको दृश्य हटाउन भनेको सेन्सर बोर्डले बुधबार केही दृश्य संशोधन गरेपछि प्रदर्शन अनुमति दिएको हो। सुरुमा निर्माण पक्षले उक्त अभिव्यक्ति हटाउन तयार नभएको भनेपनी अन्ततः निर्माण पक्ष ओलीको अभिव्यक्ति हटाउन तयार भएपछि बोर्डले अनुमति दिएको स्रोतले जनाएको छ ।

चलचित्रमा संविधान जारी गर्दा २०७२ सालमा ओलीले संविधान स्वीकार नगर्नेलाई ‘कुहिएको आँप’ भनेको र त्यही शब्द चलचित्रमा प्रयोग भएपछि सेन्सरले आपत्ति जनाएको थियो । यो शब्द हटाउन सेन्सरले सुझाएपछि निर्माणपक्षले चलचित्रको मर्म नै मर्ने भन्दै नहटाउने अडान लिएको थियो । तर, सेन्सरले राख्ने भए प्रधानमन्त्रीको कार्यालयबाट अनुमतिसहितको पत्र लिएर आउन भनेको थियो ।

विश्वकै उत्कृष्ट निर्देशक मध्यमा परेका दीपक रौनियारको निर्देशन रहेको चलचित्र ‘राजागंज’ले २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेस आन्दोलन र त्यसबाट सिर्जित घटनालाई केन्द्रमा राखेर चलचित्र तयार पारेको छ ।

चलचित्रमा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठलगायतको अभिनय छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय