क्यानले सार्वजनिक गर्यो नेपाली क्रिकेटको वार्षिक क्यालेन्डर
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२५ मा हुने आफ्ना खेल गतिविधिको कार्यतालिकासहित वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।
शनिबार पत्रकार सम्मेलन गर्दै क्यानले २०२५ मा नेपाली राष्ट्रिय पुरुष र महिलाका साथै उमेर समूहमा हुने क्रिकेट तालिका सार्वजनिक गरेको हो।
सो क्रममा क्यानका सचीव पारस खड्काले यो वर्ष नेपालको ध्यान विश्वकप छनोटका निम्ति केन्द्रित हुने बताए। नेपाली टोलीले अप्रिलमा हङकङ सिरिज, मेमा यूके भ्रमण गर्दै जुनमा आईसीसी विश्वकप लिग-२ खेल्नेछ।
यस्तै, खड्काका अनुसार ट्वान्टी-२० विश्वकप छनोटको तयारी श्रीलंकामा हुनेछ। आउँदो अक्टोबरमा नेपालले ओमानमा विश्वकप छनोट खेल्नेछ। नोभेम्बरमा यूएईमा विश्वकप लिग-२ खेल्नेछ ।
महिला क्रिकेट टोलीले अप्रिलमा भुटानसँग ट्वान्टी-२० सिरिज खेल्ने क्यानले जनाएको छ।
घरेलुतर्फ नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण नोभेम्बरमा सुरु हुनेछ। प्रधानमन्त्री कप क्रिकेट मार्चमा हुने कार्यतालिका छ। क्यानले खेलाडीको नयाँ ग्रेडिङ पनि छिटै सार्वजनिक गर्ने बताएको छ।