२०८२ मा चलचित्रको बाढी आउने संकेत !

२०८१ मा प्रदर्शन भएका केही चलचित्रले अप्रत्याशित बढी ब्यापार गरेपछि हौसिएका चलचित्रकर्मीले २०८२ मा चलचित्र निर्माण र प्रदर्शनको बाढी नै ल्याउने संकेत गरेका छन् ।

०८१ को सुरुमै प्रदर्शन भएको चलचित्र डिग्रीमाइलादेखि दिमाग खराब,१२ गाउँ,छक्कापन्जा-५,बोक्सीको घर,पुजार सार्की हुँदै अत्यधिक सफल भएको पुर्णबहादुरको सारङ्गी सम्मले उत्कृष्ट ब्यापार गरेपछि ०८२ को लागि पनि चलचित्रको लाइन छ।

यस वर्ष ह्रस्व-दीर्घ, ज्वाइँ साब, खुश्मा, घरज्वाइँ, एक्टर-टेक वान, दु:खी आत्मा, कार्साङ, तेल भिषासहित अन्य केही चलचित्रले लगानी सुरक्षित गरे। अहिले पनि हलमा मायावी, फेरि रेशम फिलिली र लाज शरणम प्रदर्शनमा छन् । अझै यसै वर्ष प्रदर्शन हुन एक दर्जन चलचित्र लाइनमा छन् । ‘पिताम्बर’, ‘नरसिंहा’, ‘एन्जिला’, ‘आउट ल-दफा २१९’, लगायत लाइनमा छन् ।

०८२ मै प्रदर्शन हुनेगरी महाशिवरात्रीको दिन मात्रै चार चलचित्रको छायाङ्कन सुरु भएको छ। महाशिवरात्रिको अवसरमा शुभ मुहुर्त तथा छायांकन सुरु भएका ‘कुस्ती’, ‘हर्ष’, ‘माग्ने राजा’ र ‘कोशेढुङ्गा’ ०८२ मै प्रदर्शन हुनेछन् ।

अभिनेता बुद्धि तामाङ (हैट) निर्माता बनेको चलचित्र ‘कुस्ती’को छायांकन काठमाडौँबाट सुरु भएको छ । चलचित्रमा अभिनेता धीरज मगर, मिरुना मगर, बुद्धि तामाङ,राजाराम पौडेल,किरण केसी,पुस्कर गुरुङ,लुनिभा तुलाधर लगायतको अभिनय छ। यो चलचित्र ०८२ मा प्रदर्शन हुनेछ।

यस्तै, अर्को चलचित्र ‘हर्ष’ को छायांकन पनि चितवनमा हुने निर्देशक एकता पौडेलले जानकारी दिइन्। न्युयोर्क फिल्म एकेडेमीबाट चलचित्रसम्बन्धी अध्ययन गरेर चलचित्र निर्माणमा जुटेकी निर्देशक पौडेलले ३५ दिनको तालिका बनाएर छायाङ्कन सुरु गरेकी छन् । यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापालगायत कलाकारले अभिनय हुनेछ। यो पनि ०८२ मै प्रदर्शन हुने भनिएको छ।

‘माग्ने बुढो’को उपनामले परिचित कलाकार केदार घिमिरेको शीर्ष भूमिका रहेको चलचित्र ‘माग्ने राजा’को पनि काभ्रेबाट छायांकन सुरु गरिएको छ । काभ्रेमा १० दिन र बाँकी छायांकन काठमाडौँमा गरिने यो चलचित्रमा अभिनेता घिमिरेसँगै आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देललगायत कलाकारले अभिनय गर्ने छन् । ऋषि लामिछानेको निर्देशनमा तयार भइरहेको ‘माग्ने राजा’ चलचित्र आगामी वर्ष २०८२ को हरितालिका तीजमा प्रदर्शन हुने कलाकार घिमिरेले जानकारी दिए ।

किशोर अनुरागको निर्माण र ‘पूर्णबहादुरको सारङ्गी’का सरोज पौडेलको निर्देशनमा बन्ने ‘कोशेढुङ्गा’ को पनि छायाङ्कन सुरु भएको छ । निर्देशक पौडेलका अनुसार चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईँ, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायतले अभिनय गर्नेछन् । निर्देशक पौडेलका अनुसार ‘कोशेढुङ्गा’ चलचित्र पनि २०८२ सालमा ‘रिलिज’ हुनेछ ।

यी बाहेक २०८२ सालमै प्रदर्शन हुनेगरी दिपकराज गिरी र बिराज भट्टले पनि चलचित्र निर्माण सुरु गर्दैछन् । दिपकले वडा नम्बर-६ को सिक्वेल र बिराज भट्टले १२ गाउँ-२ ल्याउने तयारी गरेका छन्  । त्यसैगरी निर्देशक रामबाबु गुरुङ,उपेन्द्र सुब्बा,निश्चल बस्नेत, दिपेन्द्र लामा,निर्माता/निर्देशक अशोक शर्माले पनि ०८२ मै चलचित्र ल्याउने बताएका छन् ।

त्यसो त अहिले छायांकन सकेर धमाधम पोष्ट प्रोडक्सनमा रहेका चलचित्र पनि ०८२ को तिजदेखि दसैं,तिहार,छठ र महाशिवरात्री कुरेर बसेका छन् । दिनेश राउतको ‘महाभोज’ सन्तोष सेनको ‘बलिदान’, दिपेन्द्र के खनालको ‘हरिबहादुरको जुत्ता’ र ‘मेयर’ पनि ०८२ मै प्रदर्शन हुनेछन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय