केपी ओली कप फुटबल आजदेखि सुरु हुँदै

काठमाडौं । राष्ट्रिय युवा संघको आयोजनामा तेस्रो संस्करणको केपी ओली कप नकआउट फुटबल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै छ ।

प्रतियोगिताको उद्घाटन खेलमा उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र नेपालको विभागीय टोली एपीएफले प्रतिस्पर्धा गर्ने छन् । ब्ल्याक बुल्सले केही दिनअघि पोखरामा सम्पन्न आहारारा पोखरा गोल्डकपको उपाधि जितेको थियो ।

फागुन ११ देखि १९ गतेसम्म हुने प्रतियोगितामा ब्ल्याक बुल्स र भुटानको ट्रान्सपोर्ट युनाइटेड विदेशी टिमको रुपमा छन् । यस्तै नेपालबाट तीन विभागीय टोली त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब र एपीएफ एफसीसँगै मच्छिन्द्र एफसी, न्युरोड टिम (एनआरटी) र संकटा एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

आयोजकको टिम केपी ओली एफसी पनि सहभागी हुनेछ । ९ टिम भएकोले एक खेल प्रि क्वाटरफाईनल हुनेछ । त्यसपछि क्‍वाटरफाइनलका खेलहरू हुनेछन् ।

सेमिफाइनलअघिका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ भने सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्‍वरस्थित दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ तथा उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउनेछन् ।

यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय