पुर्व राष्ट्रपति भण्डारीको देश दौडाहा एमाले अध्यक्षकै सहमतिमा !

काठमाडौं । पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुन: राजनीतिमा सक्रिय हुन एमालेकै नेताहरूले उचालिरहेको भन्ने आरोपसँग पुष्टि हुनेगरी केही गतिविधि भएका छन् ।
पुस र माघमा पोखरा सहित पुर्वी नेपालको भ्रमण गरेर राजनीतिमा फर्किने तयारीमा रहेकी भण्डारीले पुनःचैत पहिलो हप्तादेखी पश्चिमका तीन प्रदेश भ्रमण गर्ने तय भएको छ। उनी निकट स्रोतका अनुसार यो भ्रमणमा पनि एमालेकै नेताले साथ दिने देखिन्छ। भण्डारीको यसअघिका भ्रमणमा पनि एमाले नेताहरू नै सक्रिय थिए।
त्यसो त भण्डारी राजनीतिमा सक्रिय हुनुमा नेकपा एमालेका अध्यक्ष एवं बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहयोग रहेको चर्चा छ। बाहिर ओली असन्तुष्ट भन्दै भित्री खेल एमालेको राजनीतिक पकड कायम राख्न मिलेमतो भएको अनुमान गरिएको छ। अध्यक्ष ओलीसँग असन्तुष्ट नेताहरूलाई पुर्व राष्ट्रपति भण्डारीले सम्हाल्ने र ०८४ मा एमालेलाई बहुमत जुटाउने भित्री कसरत भएको एमाले भित्रै चर्चा छ।
एमालेका केही नेताले राष्ट्रप्रमुख भइसकेको व्यक्ति फेरि राजनीतिमा आउनु राम्रो नहुने भन्दै भण्डारीलाई रोक्न खोजेको भनिए पनि वास्तविकता फरक रहेको एमाले नेताहरु बताउँछन्। एमाले बरिस्ठ उपाध्यक्ष ईश्वर पोख्रेल,उपाध्यक्ष युवराज ज्ञवाली,सुरेन्द्र पान्डे,महासचिव शंकर पोखरेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सहित नेताहरू शेरधन राई,डोरमणी पौडेल,पोखरा उपमहानगरकि उपप्रमुख मन्जुदेवी गुरुङ अहिले पुर्व राष्ट्रपति भण्डारीको पक्षमा लागेको देखिन्छ।
सुरुमा अध्यक्ष ओली र उनी निकट केही नेताले पुर्व राष्ट्रपति भण्डारीलाई एमालेको राजनीतिमा आउनबाट रोक्न खोजिएको भएपनी अहिले ओलीकै सहमतिमा भण्डारीको देश दौडाहा भएको एमालेका केही नेताले दाबी गरेका छन् । भण्डारीलाई रोक्न केही नेता लागेको भएपनी अब रोक्न सम्भव नभएको भन्दै एमाले भित्र पुर्व राष्ट्रपतिको पक्षमा आफैँ माहौल बन्दै गएको बताइन्छ ।
पुर्व राष्ट्रपति भण्डारी राजनीतिमा फर्कने तयारी बारे सुरुमा अध्यक्ष ओलीलाई मन नपरेको भएपनी भण्डारी निवासमा भएको भेटपछि वातावरण बनेको केही नेता बताउँछन्। अध्यक्ष ओलीको भित्री समूहले भण्डारीलाई रोक्न खोजेको तर, अब ओली नै कन्भिन्स भैसकेपछी परिस्थिति फेरिएको स्रोतको भनाइ छ।

