आजदेखि आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट सुरू हुँदै

काठमाडौं । पाकिस्तानमा आजदेखि नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट सुरू हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाकिस्तान र न्युजिल्याण्ड आमनेसामने हुँदै छन् ।
नेशनल स्टेडियम कराँचीमा दिउँसो पौने ३ बजेदेखि खेल सुरू हुनेछ । पाकिस्तान यस प्रतियोगिताको साविक विजेता समेत हो । सन् २०१७ मा पछिल्लोपटक भएको फाइनलमा भारतलाई हराउँदै पाकिस्तानले उपाधि जितेको थियो ।
आठ वर्षपछि हुन लागेको आईसीसीको ‘मिनी विश्वकप’ भनिने यस प्रतियोगितामा आठ टोलीहरू सहभागी छन् । टोलीहरूलाई दुई समूहमा विभाजित गरिएको छ ।
समूह ए मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेश रहेका छन् भने समूह बी मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान रहेका छन् ।
हरेक समूहबाट सिंगल राउण्ड रोबिनका खेलपछि शीर्ष दुई टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने छन् । फाइनल खेल ९ मार्चमा हुनेछ ।

