नेसपा (नयाँशक्ति)को उपाध्यक्षमा मानुषी निर्विरोध

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को उपाध्यक्ष पदमा मानुषी यमि भट्टराई निर्बिरोध भएकी छन् । मानुषी संगै दुर्गा सोव पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

समावेशी क्लष्टर अन्तर्गत भट्टराई महिलाबाट उपाध्यक्ष र सोव दलितबाट उपाध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्षमा भने डा.बाबुराम भट्टराई र नेत्र चापागाईं बीच चुनाव हुने भएको छ।

यसैगरी ११ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यमध्ये ९० जनाको लागि आज निर्वाचन हुनेमा २ पद निर्विरोध भएपछि अब ८८ पदमा चुनाव हुँदैछ । उम्मेदवारविरुद्ध परेको दाबी विरोध पछि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशित गर्दै छ ।

आइतबारदेखि काठमाडौंमा सुरु भएको पार्टीको प्रथम महाधिवेशनमा निवर्तमान अध्यक्ष भट्टराईले ‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार’ सम्बन्धी राजनीतिक र साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । उनको प्रतिवेदन समुहगत छलफल पछि सोमबार राती पारित भएको थियो। आज निर्वाचनको काम मात्रै बाकी रहेको आयोजकले जनाएको छ।

नेसपामा समावेशी जनजाति उपाध्यक्षमा राम घले, टेकबहादुर बाठामगर, अनुपसिंह सुवाल र दलबहादुर लिम्बुले उम्मेदवारी दिएका छन् । त्यसैगरी मधेशी/थारु उपाध्यक्षमा उमेश साह र चिनक कुर्मीको उम्मेदवारी परेको छ ।

महासचिवमा जिएस गुरुङ, सोनामसिं स्याङ्तान र राजु नेपालको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी खुला सचिवमा भरतराज दाहाल, दानबहादुर सहकारी, लक्ष्मण कार्की र छन्दबहादुर पन्थीको उम्मेदवारी परेको छ । महिला सचिवमा श्रीजना सुवेदी, आशाकुमारी तामाङ र सृजना रिजाल नेपालले उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्ष पदमा हरिप्रसाद रिजाल र गोकर्णप्रसाद अधिकारीले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिले उम्मेदवारको नाम र दाबी बिरोध हेरिरहेको छ। केहिबेरमा अन्तिम नामावली प्रकाशन र त्यसपछि मतदान सुरु हुनेछ।

करिब १६ सय महाधिवेशन प्रतिनिधि सहभागी भएको र त्यसमध्ये झन्डै ३ सय जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रिय समिति सदस्यका लागि गन्डकी प्रदेशका मन्त्री फणीन्द्र देवकोटा सहित नारायण खनाल,पंकज राई,प्रकाश केसी,रुपनारायण श्रेष्ठ,केशब अर्याल लगायतले उम्मेदवारी दिएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय