अर्जुन ट्रफी क्रिकेट प्रतियोगिताको उपाधि सिवाइसी अत्तरियाले जित्यो

धनगढी । कैलालीको धनगढीमा भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सिवाइसी अत्तरियाले जितेको छ । धनगढीको फाप्ला मैदानमा सोमबार भएको फाइनल खेलमा फ्रेन्ड्स क्लब डडेल्धुरालाई ३४ रनले पराजित गर्दै अत्तरियाले उपाधि जितेको हो।
फाइनलमा अत्तरियाले दिएको एक सय १९ रनको लक्ष्य पछ्याएको डडेल्धुरा १८ ओभरमा ८४ रनमा समेटियो । डडेल्धुराका लागि गजेन्द्र बोहराले २४, कुशल भुर्तेलले २० र अशोक धामीले ११ रन बनाए। डडेल्धुराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । अत्तरियाका शहाव आलम र दिपेश कडेलले तीन–तीन विकेट लिए । कमल गुप्ता र विवेक यादवले दुई–दुई विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १८ रन बनाएको थियो । अत्तरियाका लागि रासिद खानले ३१ रन बनाए । यस्तै, सन्तोष कार्की र शंकर रानाले समान २०–२०, सन्दीप क्षेत्रीले १२, विवेक यादवले ११ र भीम सार्कीले १० रन बनाए ।
डडेल्धुराका लागि अभिषेक गौतमले चार विकेट लिए । यस्तै अजय चौहान र कुशल भुर्तेलले एक–एक विकेट लिए । अत्तरियाका तीन खेलाडी रन आउट भएका थिए । अत्तरिया प्रतियोगिताभर अपराजित रहदै च्याम्पियन बनेको हो ।
उपाधिसँगै अत्तरियाले नगद १० लाखसहित ट्रफी प्राप्त गरेको छ । डडेल्धुराले नगद पाँच लाखमा चित्त बुझाएको छ । सिवाइसी अत्तरिया धनगढी प्रिमियर लिग–३ को पनि विजेता हो।
सिवाइसी अत्तरियाका विवेक यादव अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । यादवको उत्कृष्ट प्रदर्शनको मदत्तले अत्तरिया प्रतियोगिताको च्याम्पियन भएको थियो । प्रतियोगिताभर उनले एक सय ५२ रन बनाए भने १० विकेट लिए । उनले नगद एक लाखसहित ट्रफी पाए ।
यस्तै उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यान भने डडेल्धुराका कुशल भुर्तेल भए । उनले पाँच खेलमा १३ विकेट लिएका थिए । एक सय ६८ रन बनाएका थिए । उनले पनि एक लाख नगदसहित ट्रफी पाए । यस्तै प्रतियोगितामा उदयमान खेलाडी भने डीसीए धनगढीका हिक्मत महरा भए ।

