चलचित्र ‘पहाड’को छायांकन सुरु

नेपाली चलचित्र क्षेत्रका अब्बल, अनुभवी र कुनैबेलाका चर्चित निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु गरेका छन् । झण्डै ८ बर्षपछी निर्देशनमा घिमिरेको कम्ब्याक भएको छ।
कलाकार मदनकृष्ण श्रेष्ठलाई लिएर गोरखा दरबारमा पुजा गरेपछि चलचित्रको छायांकन सुरु गरिएको हो। अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र नवअभिनेत्री पञ्चमी घिमिरेको दृश्यलाई खिच्दै छायाङ्कनको सुरूवात गरिएको हो ।

निर्देशक घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्याको कारण चलचित्रमा खोज्दैछन् । चलचित्रको छायाङ्कन गोरखा जिल्लामा   २५ दिनसम्म गरिने छ ।

उनले भने, “अहिलेको समाजको तीतो यथार्थलाई दर्शक समक्ष पुर्याउने कथा तयार भएको छ । मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको चलचित्रमा नयाँ र पुरानो दुवै पुस्तासँग काम गर्न पाउँदा उत्साहित छु । पुनः चलचित्र निर्देशनमा सक्रिय हुँदा छुटै ऊर्जा प्राप्त भएको छ ।”

यस चलचित्रबाट निर्देशक घिमिरेको छोरी पञ्चमी घिमिरेले अभिनयको सुरुआत गरेकी छन् । चलचित्रकर्ममा छोरीको आगमनले आफूलाई खुसी लागेको निर्देशक घिमिरेले बताए। “आफू भएको पेसामा सन्तान आउँदा वा विश्वास गर्दाको खुसी व्यक्त गर्न सकिदैन । अन्य पेसा झैँ हामी चलचित्रकर्मी पनि आफ्नो सपनालाई सन्तानले अगाडि बढाएको हेर्न चाहन्छौँ ”, निर्देशक घिमिरेले भने ।

चलचित्रमा विपीन कार्की, सुनिल थापालगायतका कलाकारले अभिनय गर्दैछन् । यसमा रञ्जित गजमेरले सङ्गीत सिर्जना गरेका छन्। रन्जित गजमेर तुलशी घिमिरेका ससुरा हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय