१५ औं महाधिवेशनमा धेरै नेताको बिदाई हुन्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको आगामी १५औं महाधिवेशनबाट अहिले देखिएका धेरै नेताहरुको बिदाई हुने दाबी गरेका छन् ।
नेपाली कांग्रेसले सुरु गरेको १०० दिने अभियानको समापन गर्न चितवन पुगेका महामन्त्री शर्माले त्यहाँको कार्यक्रममा यो दाबी गरेका हुन् ।उनले अब पार्टी पहिले भन्दा फरक तरिकाले र अझै राम्रो तरिकाले अगाडी बढ्ने र परिस्थिति पनि बदलिने दिशामा अघि बढेको बताए ।‘१५औं महाधिवेशनबाट अहिलेका धेरै नेताहरुको बिदाई भएर कांग्रेस तन्नेरी बन्ने दिशामा जाँदैछ’-उनले भने,-‘बदलिएको कांग्रेस बन्नेछ । को सभापति र को महामन्त्री बन्छ भन्ने कुरा छलफलको विषय होइन । कुन पुस्ताको आउनुहुन्छ, त्यो छलफलको विषय होइन ।’
महामन्त्री शर्माले कांग्रेसमा कसैलाई बोल्न निषेध नगरिएको पनि बताए । उनले थपे, ‘कांग्रेसभित्र सानातिना समस्या हुनु न विगतमा अनौठो मान्न मिल्थ्यो न आज । विवाद नै हुनुहुन्न भन्ने कुरा व्यवहारिक हुन्न । राजनीतिक दलमा फरकफरक विचार आउँछन्, छलफल हुन्छ र त्यसको बीचबाट अगाडि बढ्छौं । त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । कतिपय दल हेर्नुस् त, प्रश्न गर्न निषेध गरिएका छन् । कांग्रेसमा हेर्नुस् सभापतिमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइराला टिकट वितरणमा सभापति र महामन्त्रीहरुसँग सामेल हुनुभयो । उहाँमात्रै होइन, प्रकाशमान सिंह, विमलेन्द्र निधि पनि त्यही हुनुहुन्छ ।’

