समाजवादी विद्यार्थी युनियन महाधिवेशनको चटारोमा

काठमाडौं । नेपाल समाजवादी विद्यार्थी युनियनको दोश्रो राष्ट्रिय महाधिवेशन बुधबारदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का संयोजक डा.बाबुराम भट्टराईले गर्नेछन् ।
त्रिभुवन बिश्वबिद्यालय केन्द्रिय क्याम्पस कीर्तिपुरमा हुने महाधिवेशन २ दिनसम्म चल्नेछ। माउ पार्टी नेसपा(नयाँ शक्ति)को महाधिवेशनको १० दिन अघि विद्यार्थीले महाधिवेशन गर्न लागेका हुन् । महाधिवेशनमा देशभरबाट प्रतिनिधि सहभागी हुने र प्रत्येक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने आयोजकले जनाएको छ।
संगठनका अनुसार महाधिवेशनबाट २५ सदस्यीय पदाधिकारी सहित ९९ जनाको पूर्ण समावेशी समिति निर्वाचित हुनेछ।जसमा एक अध्यक्ष, ११ उपाध्यक्ष, २ महासचिव (एक महिला अनिवार्य), १० सचिव, १ कोषाध्यक्ष र ७४ जना केन्द्रिय सदस्य रहनेगरी केन्द्रीय समिति गठन हुने अध्यक्ष नेत्र चापागाईंले जानकारी दिए।
संविधानमा उल्लेख भएअनुसार आदिवासी जनजाति, दलित, थारु, मधेशी, महिला, अल्पसंख्यक, पछाडि पारिएको क्षेत्र, अपाङ्ग, मुस्लिम, खुला र खस/ आर्यबाट एक एक जना उपाध्यक्षको व्यवस्था विधानमा गरिएको छ ।
हालका अध्यक्ष नेत्र चापागाईंले सातवटै प्रदेशमा दैनिक ८ घन्टा उभिएर शिक्षा सुधारका १५ बुँदामा सरकार र सरोकारवाला निकायको ध्यान खिचेपछी यो विद्यार्थी संगठन विद्यार्थी बीच लोकप्रिय छ। अध्यक्ष चापागाईंले काठमाडौंको माइतीघरदेखि पोखरा,धनगढी,बुटवल,हेटौंडा,बिराटनगर र जनकपुर सम्म पुगेर प्लेकार्ड र नारा लिखित कागजको टोपी लगाएर चोकमा उभिएका थिए। जसले पुर्व शिक्षा मन्त्री सुमना श्रेष्ठदेखि बर्तमान शिक्षा मन्त्री विद्या भट्टराई सम्मलाई उनको धर्नास्थल सम्म तानेको थियो।

