वामदेवको एमाले यात्रा : बाटो खुला,ढोका बन्द !
काठमाडौं ।नेकपा एमाले केन्द्रिय सचिवालय बैठक बसिरहेका बेला नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम टेलिफोनको प्रतीक्षामा थिए। सो बैठक मै उनलाई पार्टीमा स्वागत गर्ने तयारी पनि छ भन्ने उनले सुइँको पाइसकेका थिए।

तर,बैठक सकिएपछि पनि कुनै खबर आएन। वामदेवले ठाने साथीहरूले समय मिलाएर बोलाउन खोजेका होलान् । यद्यपि उनी एमाले कार्यालयबाट जतिबेला बोलाएपनी जान तयार भएर बसेका थिए। बैठक लगत्तै एमाले महासचिव शंकर पोख्रेलले बैठकका निर्णयहरु भन्दै ४ बुँदे प्रेस नोट जारी गरे। त्यसमा चौथो नम्बरमा लेखिएको थियो,-‘वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने।’

एमाले बैठकमा वामदेवलाई पार्टीमा भित्र्याउने बिषयमा त्यतिसारो गम्भीर र लामो छलफल नै नभएको स्रोतको भनाइ छ। त्यसैले वामदेवको प्रतीक्षालाई सम्बोधन गर्न निर्णयको अन्तिम बुँदामा ‘सहकार्य गर्दै जाने’ भनेर लेखियो। वामदेवको हतारोलाई एमालेले खासै महत्त्व दिएको देखिएन।
यसको मत्लब अब वामदेवको एमाले यात्रामा बाटो खुला भएपनी ढोका अझै बन्द नै छ भन्ने बुझिन्छ। वामदेवसँग भएका केही नेता बलराम बाँसकोटा,हरि पराजुली,धनराज आचार्य नेकपा एकीकृत समाजवादीमा छन् भने उनको अभियानका बहुमत नेताहरू माओवादी केन्द्रमा प्रवेश गर्दैछन् ।यो अवस्थामा उनिसँग संविधान सभा सदस्य डिबि कार्की मात्रै साथमा छन् । वामदेव कै श्रीमती तुलशा थापा समेत पहिल्यैदेखी एमाले मै छिन् ।
वामदेवसँग भएको शक्ति भनेको उनी राष्ट्रिय सभा सदस्य छन् । जुन एमालेमा गएपछि एकसिट थपिन्छ। गौतम राष्ट्रपतिबाट मनोनीत सदस्य भएकोले अहिले उनको राष्ट्रिय सभा सांसद पद पनि पार्टी पहिचान होइन।तर, एमालेको एक सिट थपिने बाहेक गौतमलाई पार्टीमा भित्र्याउदा अरु खतरा पनि नेताहरूले देखेका छन् ।
जहिले पनि अस्थिर भनिने गौतमले एमाले गएपछि पुन गुट बनाउन सक्ने, आगामी महाधिवेशनमा अध्यक्ष उठ्छु भनेर केपी ओलीलाई नै टक्कर दिन सक्ने र अन्टसन्ट बोलेर पार्टीलाई थप अफ्ट्यारो बनाउन सक्ने गरि पनि उनिमाथी शंका कायम छ। त्यसैले एमाले नेताहरू ईश्वर पोख्रेल, खगराज अधिकारी,प्रदिप ज्ञवाली,शंकर पोख्रेलहरु गौतमको पार्टी आगमनलाई खासै महत्त्व दिनुनपर्ने भनिरहेका छन् ।