चलचित्र ‘एक्टर: टेक वन’ माघ १६ मा प्रदर्शन हुने
काठमाडौं । बहुप्रतिक्षित चलचित्र ‘एक्टर: टेक वन’ माघ १६ गतेदेखी प्रदर्शन हुने भएको छ। यसअघि कार्तिक १५ मै प्रदर्शन हुने तयारीमा रहेको यो चलचित्र माघ १६ मा सरेको हो। अहिले चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ ।

गत शुक्रबार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरी सिनेमाको ट्रेलर सार्वजनिक गरिएको थियो। ट्रेलरले चलचित्र अब्बल बनेको भनेर राम्रो प्रतिक्रिया पाइरहेको छ। चलचित्रको ट्रेलरमा प्रदिप खड्का हावी हुँदा राजबल्लव कोइराला,आना शर्मा र दिब्य रायमाझी फिचर्ड छन् । ट्रेलरमै निश्चल वस्नेतको सस्पेन्स इन्ट्रीले अर्को धमाका दिएको छ।

राजन भुसालद्वारा निर्देशित यस चलचित्रको ट्रेलरले त्रिकोणात्मक प्रेमकथा र महत्वाकांक्षी पात्रहरूबीचको द्वन्द्वलाई देखाउन खोजेको बुझिन्छ ।यद्यपि कथाको वास्तविकता सबै बुझ्न माघ १६ कुर्नैपर्ने हुन्छ। अमेरिका बस्दै आएका अभिनेता राजबल्लभ कोइरालाको चलचित्रमा “कम्ब्याक” बबाल हुने अपेक्षा गरिएको छ। अभिनेता दिलिप रायमाझीकि छोरी दिव्य रायमाझीले यहि चलचित्रबाट डेब्यु गर्दैछिन।
चलचित्रमा मुख्य भूमिका निभाउने प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, दिव्य देव र राजबल्लभ कोइरालालाई ट्रेलरमा विशेष रूपमा फिचर गरिएको छ। ट्रेलरले प्रदीप खड्काको महत्वाकांक्षी चरित्रको कथा देखाउँछ, जसलाई आफ्नो लक्ष्य प्राप्त गर्न विभिन्न तगाराहरू पार गर्नुपर्छ। राजबल्लभ कोइराला ग्रे क्यारेक्टरमा देखिएका छन्, जसले षड्यन्त्र र द्वन्द्व सिर्जना गर्न भूमिका खेल्ने ट्रेलरले देखाउँछ। चलचित्रमा नायक सुशील सिटौला र कलाकार उषा रजकको पनि अभिनय रहेको छ।
अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘एक्टर: टेक वन’को स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । थमन कुमार भण्डारीले निर्माण गरेको यस चलचित्रमा अनीश भुसाल सह-निर्माता र मोती कार्की क्रियटिभ प्रोड्युसरको भूमिकामा छन्।