चलचित्र ‘कार्साङ’लाई दर्शकको साथ
अभिनेता दयाहाङ राई र जितु नेपाल (मुन्द्रे) अभिनित चलचित्र ‘कार्साङ’ले दर्शकको साथसँगै उत्साहजनक प्रतिक्रिया पनि पाएको छ । चलचित्र गत शुक्रबारदेखि देशभरका हलमा लागिरहेको छ।
प्रिमियरमा उपस्थित कलाकार तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिले पनि ‘कार्साङ’लाई हेर्नैपर्ने मौलिक चलचित्र भनेका थिए। शेर्पा समुदायको मौलिक कथा भन्ने चलचित्रले उनीहरूको संस्कार र संस्कृतिलाई देखाएको छ।

नेपालको शेर्पा समुदायको संस्कृति अनुभूत गर्न पनि यो सिनेमा हेर्नैपर्ने धेरैले प्रतिक्रिया दिएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक दीपेन्द्र के खनाल, वितरक, निर्माता तथा निर्देशक अशोक शर्मा, बसन्त निरौला, कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, हास्य कलाकार किरण केसी (रातामकै), कवि विप्लव प्रतीक, कलाकार अनुप बराल, मनिष राउत, गायक कमल खत्री, मेलिना मैनाली लगायतले हेर्नुपर्ने चलचित्रको सूचीमा ‘कार्साङ’ लाई लिनुपर्ने भनेका थिए।

अभावमा बाँचिरहेको व्यक्ति आफ्नौ गाउँ, समाज र आफन्तबाट कसरी तिरस्कृत हुन्छन् भन्ने यो चलचित्रले देखाएको छ । अभाव र दुःखमा बाँच्ने व्यक्तिलाई आफ्नो संस्कार जोगाउन कति कठिन छ भन्ने कुरा यो ‘कार्साङ’ले देखाउन खोजेको छ।
चलचित्र ‘कार्साङ’ यम शेर्पाले निर्देशन गरेका हुन्। ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको छ । ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।