चलचित्र ‘दुःखी आत्मा’ भित्र यौनका कुरा !

काठमाडौं । दयाहाङ राई अभिनित नयाँ चलचित्र दु:खी आत्मा फागुन २ गते भ्यालेन्टाइन दिवसको दिनदेखी सार्वजनिक प्रदर्शन हुने भएको छ।
रंगपत्रकार हुँदै चलचित्र निर्देशनमा लागेका कुशल निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘दुःखी आत्मा’ भ्यालेनटाइन डे बाट नै प्रदर्शनमा आउँनुको कारण यो चलचित्र युवा पुस्ताको रोजाईको कथामा बनेको छ।
यो चलचित्रमा गतबर्ष प्रदर्शन भएको ‘डिग्री माइला’पछि एकपटक फेरि अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको जोडीलाई देख्न सकिन्छ। फिल्मको युट्युबमार्फत् टिजर सार्वजनिक गरिएको छ । जसमा यौनका कुरा बढी छ। जुन युवा पुस्ताले रुचाउने अपेक्षा गरिएको छ।

३ मिनेट १५ सेकेण्ड लामो टिजरले प्रेमलाई केन्द्रविन्दू बनाएर यौन आकर्षण र दुर्बलताको कथा पेश गरेको छ । दयाहाङको पात्र इरेक्टाइल डिसफंक्शन अर्थात् नपुंसकता (सम्भोगको क्रममा उत्तेजना नहुनु) समस्याबाट पीडित जस्तो देखाउन खोजिएको छ। ‘एडल्ट ड्रामा’ उल्लेख गरिएको टिजरमा आँचलले कामुक हाउभाउ प्रस्तुत गरेकी छिन् । यसमा प्रायः संवाद दोहोरो अर्थ लाग्ने छन् ।
फिल्ममा दयाहाङ र आँचलसहित अनुपविक्रम शाही, बुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, दीया मास्के, आशान्त शर्मा, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतको पनि अभिनय छ ।
निर्देशक लामा स्वयंको लेखन रहेको फिल्मलाई हिमाल कडरियाले निर्माण गरेका हुन् । यसअघि उनीहरुबीच फिल्म ‘नाङ्गो गाउँ’मा सहकार्य भएको थियो ।क्लक वर्क कृएसनको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा सुदीप ढकाल छन् । फिल्ममा चर्चित कवि श्रवण मुकारुङले विभिन्न शीर्षकमा लेखेका दशवटा कविता समावेश गरिएको छ, जुन टिजरमा पनि सुन्न सकिन्छ ।

