परिक्षाको फिल्म ‘सोल्टिनी’मा कुन-कुन कलाकार ?

फिल्म ‘सोल्टिनी’को लागि कलाकारहरूको लाइनअप पूरा भएको छ। यस फिल्ममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति रहने निर्देशक अर्जुन सुवेदीले जानकारी दिए।
चलचित्रमा अभिनेताहरू प्रकाश सपूत, परीक्षा लिम्बु र विल्सन विक्रम राईको मुख्य अभिनय रहनेछ। साथै रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल र सुजन खतिवडा लगायतका अनुभवी कलाकारहरूको अभिनयले चलचित्रलाई थप बलियो बनाउनेछ। अडिसनमार्फत छनौट भएकी सब्बु गुरुङले पनि प्रमुख भूमिका निभाउनेछिन्।
प्रकाश सपूतले ‘भीमसेन पोखरेल’ र परीक्षा लिम्बुले ‘दिलासा राई’को भूमिकामा देखिनेछन्। पहिलो पटक एकसाथ देखिन लागेका यी दुई कलाकारको जोडीले पर्दामा गजब देखिने विश्वास गरिएको छ।
भोजपुरको रमणीय प्राकृतिक सौन्दर्यमा छायाङ्कन हुने यस चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ। साथै, दुई प्रमुख पात्रबीचको प्रेम कथा पनि यसको मुख्य आकर्षण रहनेछ। फिल्मको सुटिङ पुस १५ बाट सुरू हुनेछ।
चलचित्रको सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गर्नेछन्। प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन्।
ट्राइडेन्ट कन्सेप्टले पब्लिसिटी डिजाइन गर्नेछ भने आरआर फिल्मस् प्रा।लि।ले नेपाल र नेपसिनेले विदेश वितरण गर्नेछन्। डिजिटल अधिकार एआर डिजिटलले खरिद गरेको छ।
२०८२ सालको असोज ३ गते संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको छ। रासस

