जाडोमा केरा खानु फाइदाजनक हो ?

काठमाडौं । केरा सधैं र जहाँ पनि सहज पाइने फलफूल अन्तर्गत पर्दछ । तर,यसलाई कुन समयमा खान उत्तम होला ? वा चिसो मौसममा केरा खानु हुन्छ कि हुँदैन ? यो प्रश्न मनमा उब्जिएको हुनसक्छ ।

स्वास्थ सचेतता अपनाउने कतिपयले जाडो मौसममा केरा खानु उचित हुन्छ भन्छन् भने कतिपयको भनाइ जाडो मौसममा केरा खानु त्यति हितकर हुँदैन पनि भन्ने गर्दछन्। केरा मात्रै होइन जाडो मौसममा अन्य केही खानेकुरा, विशेष गरी फलफूलका बारेमा प्रायः प्रश्न उठ्ने गरेको हुन्छ। चिकित्सकहरुमा पनि यो प्रश्न सोध्ने गरिएको हुन्छ ।

केरा वर्षभरि सजिलै पाइने र पौष्टिकताले भरिपूर्ण मानिने फल भएकोले यसलाई खानु त्यति हानिकारक मानिदैन । तर जाडो मौसममा केरा खाने कुरामा केही मतभिन्नता भने अवस्य छन् ।

केरा पोटासियम, म्याग्नेसियम र भिटामिन बी६ को राम्रो स्रोत हो, जसले शरीरको मेटाबोलिजम‍्लाई स्वस्थ राख्न मद्दत गर्छ। चिसो मौसममा जब शरीरलाई ऊर्जाको आवश्यकता बढ्छ, केरा ऊर्जाको राम्रो स्रोत साबित हुन सक्छ। साथै, यसमा पाइने फाइबरले पाचन प्रणालीलाई बलियो बनाउँछ, जुन जाडोमा सामान्यतया सुस्त हुन सक्छ।

चिकित्सा दृष्टिकोणले केरालाई चिसो फल मानिने र यसको अत्यधिक सेवनले कतिपयलाई घाँटी दुख्ने वा रुघाखोकी लाग्ने गरेको चिकित्सक बताउँछन् । यदि कसैलाई चिसोसँग सम्बन्धित एलर्जी छ भने उसले केरा नखानु हितकर हुन्छ।

साथै, यदि तपाईं शारीरिक रूपमा सक्रिय हुनुहुन्छ र चिसोमा पनि व्यायाम गर्नुहुन्छ भने, केरा तपाईँको लागि लाभदायक हुन सक्छ । किनकि यसले तत्काल ऊर्जा प्रदान गर्दछ।केरा खाने सही समय पनि महत्त्वपूर्ण छ। बिहान केरा खाँदा पाचनमा मद्दत गर्छ, तर रातिको समयमा केरा खानु हुँदैन, किनकि यसले रुघा र खोकीको सम्भावना बढाउँछ।

जाडोमा केरा खाने वा नखाने निर्णय व्यक्तिको शारीरिक अवस्था र आवश्यकतामा निर्भर गर्दछ। यसलाई सन्तुलित मात्रामा र सही समयमा खाएमा जाडोमा पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । त्यसैले आफ्नो स्वास्थ अवस्था र आवश्यकता हेरेर खानुपर्छ ।

नोट: यो सामान्य जानकारी हो। अन्य बिस्तृत जानकारी चिकित्सकसँगै लिनु उपर्युक्त हुनेछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय