पुर्वउपराष्ट्रपति पुन माओवादीमा फर्किंदै !

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले माओवादी केन्द्रमा फर्केर राजनीति गर्न चाहेका छन् । २०७४ मा उपराष्ट्रपति हुनु अघि माओवादी स्थायी समितिमा रहेका पासाङ १० बर्षे जनयुद्धको उनी शैन्य कमान्डर थिए।
उनले गणतन्त्र र संविधान माओवादी आन्दोलनको जगमा मात्रै सम्भव भएको भन्दै जनताका अधिकार स्थापीत गर्न आफू पुनः ‘रातो मान्छे’ बन्न तयार रहेको अभिव्यक्ति समेत दिएका छन् । माओवादी पार्टीले पनि उनलाई पार्टी राजनीतिमा फर्काउन चाहेको छ। माओवादी स्रोतका अनुसार उनलाई पार्टीको उपाध्यक्ष बनाउने तयारी छ। यसैका लागि माओवादीले बैठक समेत बोलाएको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनिभन्दा माथिको प्रोटोकल(उपराष्टपति)मा रहेका पासाङ पार्टीमा फर्किएर पुनः प्रचण्ड र नारायणकाजी श्रेष्ठ भन्दा तलको पदमा बस्न तयार भएका छन् । जनयुद्ध लडेर आएका र युद्धको समयमा पनि प्रचण्ड नै कमान्डर भएका कारण उनको नेतृत्वमा बस्न सहज भएपनी युद्धमा नहिडेका र ०६४ पछि माओवादी प्रवेश गरेका नारायणकाजी श्रेष्ठलाई समेत पुर्व उपराष्ट्रपति पासाङले नेता मान्नुपर्ने भएको छ। श्रेष्ठ हाल माओवादीको वरिष्ठ उपाध्यक्ष छन् ।
माओवादीमा अहिले उपाध्यक्ष रहेका पुर्व सभामुख कृष्णबहादुर महरा स्वास्थको कारण सक्रिय नभएको भन्दै सोही ठाउँमा पासाङलाई ब्यबस्थापन गर्न लागिएको स्रोतको भनाइ छ। पुर्व सभामुख अग्नि प्रसाद सापकोटा पनि अहिले उपाध्यक्ष छन् । पासाङसँगै इच्छा अनुसार उनलाई माओवादीको राजनीतिमा सक्रिय भूमिका दिन लागिएको एक नेताले बताए। खासगरी हाल उपमहासचिव रहेका जनार्दन शर्मा,बर्षमान पुन र शक्ति बस्नेतलाई साइजमा राख्न पनि पासाङलाई मुख्य भूमिकामा भित्र्याउन प्रचण्डले पनि प्रयास गरेका हुन् ।
काठमाडौंमा आयोजित गणतन्त्र सेनानी सम्मान कार्यक्रममा प्रचण्ड सहित पासाङ,जनार्दन र बर्षमानलाई सम्मान गरिएपछि पनि उनको पार्टी राजनीति छिट्टै अगाडि बढ्ने अनुमान गरिएको छ।सो कार्यक्रममा बोल्दा पासाङले पुर्व उपराष्टपतिको मर्यादा बिर्सेर माओवादी नेताकै रुपमा भाषण गरेका थिए।
उनले माओवादी आन्दोलनकै कारणले देशमा गणतन्त्र आएको भन्दै अध्यक्ष प्रचण्डलाई गणतन्त्रको नायक समेत भने।‘यो देशमा माओवादी आन्दोलन र माओवादी जनमुक्ति सेना नभएको भए गणतन्त्र एउटा कल्पना मात्रै हुनसक्थ्यो । यो समयमा हामीले गणतन्त्र प्राप्त गर्न सक्दैनथ्यौं । कसैले मानोस् वा नमानोस्, इतिहासले मानिसकेको छ’-उनको भनाइ थियो।
उनले सरकारले गणतन्त्रको योद्वाहरुलाई सम्मान गर्नुपर्नेमा समेत जोड दिदै विगतबाट शिक्षा लिएर समाजवाद प्राप्त गर्ने लक्ष्यमा दृढतापूर्वक माओवादी अघि बढ्नुपर्ने सुझाव समेत दिए। टुटफुटको इतिहासलाई फेरि जोड्दै नयाँ पार्टी निर्माण गर्दै अघि बढ्न पनि उनले आग्रह गरे । गणतन्त्रको रक्षाको लागि प्रचण्डकै नेतृत्वमा गोलबद्ध हुनुको विकल्प नभएको भन्दै उनले प्रतिक्रियावादीहरु समावेशी, समानुपातिक, संघीयतालाई दायाँबायाँ गर्न खोजे आफू रातो मान्छे भएर उभिन तयार रहेको दोहोर्याए ।

