स्थानीय तह उपनिर्वाचन : काठमाडौं-१६ बाहेक अन्त ‘घण्टी’ बजेन !
काठमाडौं। मिसन-०८४ को नारा घन्काउदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह उपनिर्वाचनमा ४२ मध्य १ स्थानमा मात्रै जित हासिल गर्यो। काठमाडौं महानगरपालिका वडा नम्बर-१६ मा रास्वपा विजयी हुँदा अन्य स्थानमा नगन्य मत प्राप्त गर्यो ।
पार्टी सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परि हिरासतमा रहेका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यो निर्वाचनमा जनतासँग मत माग्नै सकेन। सुशासनको नारा दिएर आएको नयाँ भनिएको दलकै सभापति सहकारी प्रकरणमा पक्राउ परेपछि जनताले पुरानै दलमा विस्वास गरेको देखियो। यो निर्वाचनको अहिलेसम्म सार्बजनिक भएको मत परिणामलाई हेर्दा रास्वपाले खासै जनताको मन जितेको देखिएको छैन ।
सोमबार बिहानसम्म मतपरिणाम सार्वजनिक भएका स्थानमा रास्वपाको ‘घण्टी’ले केही ठाउँ बाहेक धेरै तिर ५ मत देखि २५ मत मात्रै पाएको देखियो।यद्यपि काठमाडौं-१६ मा भने रास्वपा उम्मेदवारले रोजिना श्रेष्ठले बाजि मारिन् । यहाँ रास्वपा उम्मेदवार विजयी हुँदा २०७९ मा वडा अध्यक्ष जितेको कांग्रेसले हार ब्यहोर्नुपर्यो।उता,काठमाडौं भित्रकै किर्तिपुर नगरपालिकामा भने रास्वपाले उम्मेदवारी नै दिन सकेन।
मत परिणाम सार्वजनिक भएका गोरखा, रौतहट ,रोल्पा,जाजरकोट,मोरङ,उदयपुर,झापा,हेटौंडा,नुवाकोट जस्ता ठाउँमा रास्वपाको मत २५ पनि कटेको देखिएन। रोल्पाको रुन्टीगढी गाउँपालिका-४ को वडाअध्यक्षमा रास्वपाका हिमबहादुर पुनले जम्मा ७ मत प्राप्त गरेका छन् । वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका भुपमणी पुन मगर ६४३ मतका साथ निर्वाचित हुँदा रास्वपाका उम्मेदवार हिमबहादुर पुन ७ मत सहित पाँचौँ स्थानमा रहे । यहाँ ६ जना उम्मेदवार थिए।
त्यसैगरी कालिकोटको तिलगुफा नगरपालिका-४ को वडा अध्यक्ष पदमा पनि रास्वपालाई ५ मत मात्रै प्राप्त भयो। सो वडामा नेमकिपाका खड्गराज शाही १४३ मतका साथ निर्वाचित हुँदा रास्वपा उम्मेदवार ५ मत सहित अन्तिममा परे।
गोरखा नगरपालिका-५ को वडा अध्यक्षमा माओवादी केन्द्र विजयी हुँदा रास्वपा उम्मेदवार ८२ मतमा रोकिए। माओवादीका बिष्णु बहादुर मगर ४८६ मत सहित विजयी हुँदा रास्वपा उम्मेदवार मंगल थापाले ८२ मत मात्रै पाए।
त्यसैगरी रास्वपा उम्मेदवारले तेह्रथुमको लालिगुराँसमा ७ मत र ताप्लेजुङको सिरीजंघामा ३८ मत मात्रै ल्याए।उता दैलेखको दुल्लु गाउँपालिकामा पनि रास्वपा उम्मेदवारले ५३ मत मात्रै पाए। एमालेका लालबहादुर शाहीले ५७४ मत ल्याएर विजयी हुँदा रास्वपाका रामबहादुर शाहीले ५३ मत ल्याए। दैलेख कै महाबु गाउँपालिकामा पनि एमालेका जंगबहादुर साही ३१२७ मत ल्याएर विजयी हुँदा रास्वपा उम्मेदवार प्रकाश कुमार बुढाले ११२ मत मात्रै पाए।
ओखलढुंगाको मोलुङ गाउँपालिका-५ को वडा अध्यक्ष पदमा भने रास्वपाले अन्त भन्दा राम्रो मत पाएको छ । यहाँ नेकपा एमालेका गंगाबहादुर तामाङ ३९९ मतसहित निर्वाचित हुँदा कांग्रेसका घनश्याम दाहालले १७७ र रास्वपाका विष्णुप्रसाद पोखरेलले १५१ मत प्राप्त गरे ।
उता,रौतहटको ईशनाथ नगरपालिका-७ को वडा अध्यक्षमा पनि रास्वपाका उम्मेदवारले जम्मा ६ मत मात्रै पाए। यहाँ नेपाली कांग्रेसका शेख अब्दुल खलिक ६२७ मतसहित निर्वाचित हुँदा रास्वपाका उम्मेदवार शेख असराज सातौ स्थानमा सीमित भए ।
यसैगरी सुनसरीको गढी मा पनि रास्वपा उम्मेदवार ३३ मतमा सिमित भए।यहाँ विजयी हुने कांग्रेस उम्मेदवार तेतर साहुले ८१६ मत पाउदा रास्वपाका शशीकुमार साहु ३३ मतमा सिमित भएका हुन् ।
यता प्रदेश राजधानी हेटौंडा उपमहानगरपालिका-१२ मा पनि रास्वपाले लज्जास्पद नतिजा ल्याएको छ। यहाँ नेपाली कांग्रेसका अर्जुन तिवारी २०६३ मत ल्याएर विजयी हुँदा रास्वपा उम्मेदवार आशा वीरवल ८३ मतमा चित्त बुझाउनु पर्यो। त्यस्तै नुवाकोटको ककनीमा माओवादी उम्मेदवार विजयी हुँदा रास्वपा उम्मेदवार मंगल तामाङ ७१ मतमा रोकिए।