आज उपनिर्वाचन : बिहानै सात बजेदेखि मतदान
काठमाडौं ।स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज उपनिर्वाचन हुँदैछ। अहिले बिहान ७ बजेदखि साँझ पाँच बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ।
काठमाडौंको किर्तिपुर नगरपालिका प्रमुख सहित देशभर एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, चार उपाध्यक्ष र ३३ वटा वडाध्यक्ष गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो। एउटा वडामा भने माओवादी केन्द्रका उम्मेदवार निर्बिरोध निर्वाचित भैसकेका छन् ।
उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा निर्वाचनका लागि गरिनुपर्ने आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। सरकारले निर्वाचन हुने स्थानमा सार्बजनिक बिदा दिएको छ भने सवारीसाधन निषेध गरेको छ।
निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भएर मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ।
मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन्। उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्।
आयोगले मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालना गर्न तथा मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ।
मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने/गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालासँग आयोगले सहयोगको आग्रह गरेको छ।