मदन भण्डारी स्पोर्ट्स एकेडेमीले राष्ट्रव्यापी खेल प्रतियोगिता गर्दै

काठमाडौं, १३ मंसिर । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले विभिन्न १८ खेलको राष्ट्रयव्यापी प्रतियोगिताका साथै प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

एकेडेमीले बिहीबार पत्रकार सम्मेलन गर्दै आफ्नो राष्ट्रव्यापी खेल प्रतियोगिता सार्वजनिक गरेको हो । खेल पर्यटनलाई विकास गर्न सके देशको अर्थतन्त्र बृद्धिमा टेवा पुर्‍याउन सकिने एकेडेमीले जनाएको छ ।

एकेडेमीले भलिबल, फुटसल, तेक्वान्दो, टेबल टेनिस, बास्केटबल, फुटबल, फुल कन्ट्याक्ट, कराते, रेस्लिङ, ब्याडमिन्टन, क्रिकेट, शारीरिक सुगठन, रोड रेस, चेस, आर्चरी, कबड्डी, छेलो र हक्की खेलको राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ ।

यी खेल आयोजनामध्ये एकेडेमीले तेक्वान्दो, फुलकन्ट्याक्ट, कराते, रेस्लिङ, शारीरिक सुगठन, चेस र हक्कीमा महिलाको प्रतिस्पर्धा गर्ने जनाएको छ । रोड रेसमा यु–२० र यु–१६ उमेरसमूहमा प्रतिस्पर्धा हुने भएको छ । पोखरा वा काठमाडौंमा चैत २५ गतेदेखि आगामी वर्षको वैशाख ३ गतेसम्म केपी ओली कप राष्ट्रिय पुरुष क्रिकेट हुने भएको छ । यस प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले पाँच लाख र सेमिफाइनलिस्टले समान दुई लाख पाउनेछन् । बेस्ट प्लेयरले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सबैभन्दा पहिला पुरुष भलिबलबाट एकेडेमीले तय गरेको राष्ट्रव्यापी प्रतियोगिता सुरु हुनेछ । एकेडेमीको १६औं स्थापना दिवसको अवसरमा मदन भण्डारी कप इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता हुने भएको हो । उक्त प्रतियोगिता बुटवलमा आगामी पुष १७ देखि २४ गतेसम्म आयोजना हुने तय छ ।

यस प्रतियोगिताको विजेताले सात लाख ५० हजार, उपविजेताले तीन लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख ५० हजार र सान्त्वना पुरस्कार स्वरुप एक टोलीले एक लाख रुपैयाँ पाउनेछन् । बेस्ट प्लेयरले भने २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

भारतको रेलवे टोलीले भलिबलमा प्रतिस्पर्धा गर्ने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । साथै एकेडेमीले सातै प्रदेशमा ३२औं मदनभण्डारी स्मृति खेलाडी, अफिसियल तथा खेल सम्बन्ध व्यक्तित्वहरूमा तालिम, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने उल्लेख गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय