कीर्तिपुरको मेयरमा क-कस्को भिडन्त ?

काठमाडौं । संघीय राजधानी काठमाडौं भित्रको किर्तिपुर नगरपालिकाको मेयर सहित दुई वटा वडा तथा काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदको लागि अब ५ दिनपछि उपनिर्वाचन हुँदैछ।

काठमाडौं उपत्यका भित्रको यी ठाउँ सहित देशभरका ४४ स्थानीय तहका जनप्रतिनिधिका लागि मंसिर १६ गते आइतबार उपनिर्वाचन हुन लागेको हो। यसपटकको उपनिर्वाचनमा सत्तारुढ दल, विपक्षी दल र पहिलोपटक स्थानीय निर्वाचन लड्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले एक्लाएक्लै प्रतिस्पर्धा गर्न लागेका छन् । मुख्यत: सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले र संसदको ठूलो दल नेपाली कांग्रेस सहित प्रमुख विपक्षी माओवादीका उम्मेदवार बिचमा प्रतिस्पर्धा हुने देखिन्छ।

निर्वाचन आयोगले २५ जना भन्दा बढी घरदैलोमा नहिड्न र १० वटा मात्रै झन्डा वा चुनाव चिन्हको ब्यानर प्रयोग गर्न भनेपनी दलहरूले त्यसलाई मानेका छैनन् । सबैजसो दल र केही स्वतन्त्र उम्मेदवारले तामझाम सहित प्रचार गरिरहेका छन् । देशका अन्य भागमा भन्दा काठमाडौ भित्रको कीर्तिपुर नगरपालिकाको मेयर र महानगरपालिकाको वडा अध्यक्ष पदलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन्। यसैमा केही स्वतन्त्र उम्मेदवारले समेत जित्ने दाबी गर्दै आएका छन् ।

तर, कीर्तिपुरमा भने मुख्य दलहरूले पार्टी नेतृत्वलाई नै प्रचारप्रसारमा लैजान थालेको छ। सभापति रवि लामिछाने प्रहरी हिरासतमा रहेका कारण राष्ट्रिय स्वतन्त्र पार्टीले भने किर्तिपुरमा उम्मेदवारी दिएको छैन तर कामपा-१६ को अध्यक्षमा भने जित नै निकाल्ने दाबी सहित प्रचार गरिरहेको छ। उता किर्तिपुरमा भने नेपाली कांग्रेसले पार्टी पदाधिकारी र सांसदलाई नै जिम्मेवारी दिएर पठाएको छ। नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जसपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा),नेसपा(नयाँ शक्ति ) लगायतका दलले पनि चुनावी प्रचारप्रसार तीब्र पारेका छन् । त्यसैगरी केही स्वतन्त्र उम्मेदवारले पनि प्रचार गरिरहेका छन्।

२०७९ को निर्वाचनमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले चुनाव जितेका थिए। उनको निधनपछि यहाँ उपचुनाव हुन लागेको हो।अघिल्लो पटक जितेको यो नगरपालिकामा अहिले कांग्रेसले पार्टी सभापति कृष्णमान डङ्गोललाई अघि सारेको छ। त्यसैगरी एमालेले सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ भने माओवादीले प्राध्यापक डा.शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ। अघिल्लो निर्वाचनमा कीर्तिपुरमा हार बेहोरेको एमाले यसपटक जित निकाल्ने दाबी गरेको छ। माओवादीले पनि किर्तिपुरको चुनाव जितेर कांग्रेस-एमालेको सरकारलाई चकित पार्ने बताएको छ।

चुनाव जित्नका लागि कांग्रेसले उपनिर्वाचनको कमाण्डर पार्टीका महामन्त्री विश्वप्रकाश शर्मालाई बनाएको छ। उनकै नेतृत्वमा केन्द्रीय संयोजन समिति नै गठन गरेर चुनावमा होमिएको कांग्रेसले एक्लै लडेर चुनाव जित्ने दाबी गरेको छ।

माओवादी पनि बौद्धिक र किर्तिपुरलाई चिनेको र भिजेको भन्दै प्रा.डा शिवशरण महर्जनलाई अघि सारेको छ। महर्जनको जित पक्का छ भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक कीर्तिपुरमा इतिहास रचिने दाबी गरेका छन्।माओवादी उम्मेदवार महर्जनलाई एकीकृत समाजवादीले पनि समर्थन गरेको छ। यद्यपि समाजवादी भित्र यहि विषयमा बिबाद छ।

पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको दल नेसपा नयाँ शक्तिले पनि किर्तिपुर नगरपालिका मेयरमा दिल कुमार महर्जनलाई उम्मेदवार बनाएको छ। तर,नेसपाबाट पाखा लागेको महेन्द्र राय यादवको समूहले भने माओवादी उम्मेदवारलाई नै सघाउने बताएको छ।

उता राजावादी शक्ति भनेर चिनिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले ध्रुवबहादुर महर्जनलाई किर्तिपुरको मेयरको उम्मेदवार बनाएको छ भने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले कीर्तिपुरमा हनि महर्जनलाई उम्मेदवार बनाएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय