अष्ट्रेलिया विगत र वर्तमान; एक भ्रमण अध्ययन

प्रा. खगेन्द्रप्रसाद भट्टराई

यसपालि म र मेरी श्रीमती गायत्री कुमारी भट्टराईलाई अष्ट्रेलिया जाने अवसर मिल्यो र हामीले असार ११ गतेदेखि साउन २६, २०८१ सम्म त्यहाँ विभिन्न ठाउँहरुको अवलोकन गर्दै बितायौं । यसै सिलसिलामा अष्ट्रेलिया बारे केही अध्ययन गर्ने मौका मिल्यो ।

हामी काठमाण्डौंबाट सिंगापुर एयरलायन्समा सिंगापुर हुँदै पश्चिमी अष्ट्रेलियाको राजधानी पर्थ (Perth) गयौं । स्वान (क्धबल) नदीको दुवै किनारामा अवस्थित पर्थ एउटा सानो र सुन्दर रहेछ । शहर शान्त र सफा छ । शहरी क्षेत्रमा यातायातको अत्यन्तै राम्रो व्यवस्था छ । Red Cat, Blue Cat, Yellow Cat आदि नाउँ गरेका सार्वजनिक यातायातका साधनहरु छन् । तिनीहरुमा हिँड्दा यात्रुले भाडा तिर्नुपर्दैन । बेलाबेलामा आइरहन्छन्, त्यसैले होला भीड देखिंदैन । ती सबै अपांगमैत्री छन् ।

पर्थमा हामीले Boola Bardip Museum, The University of Western Australia, Perth oo, स्वान नदीको किनारमा रहेको Royal Parade, Matagarap Bridge, Optus Stadium, Kings Park र Botanical Garden आदिको अवलोकन गर्‍यौं म्यूजियममा भूविज्ञान (Geology) र जीवाश्म विज्ञान (Palaentology) का बारेमा केही महत्वपूणर् जानकारीहरुरु भए । धेरै वर्ष अगाडि लुप्त भएको डायनासर (Dinosaur) तथा अन्य जीवहरुको बारेमा थाहा भयो । संग्रहालयले यस पृथ्वीबाट विभिन्न जातिका अरबौं जीव/प्राणीहरु लोप भएको र लोप हुन क्रम निरन्तर चलिरहेको कुराको जानकारी गरायो । केही जनावरहरु अष्ट्रेलियामा मात्रै पाइन्छन् । ती जनावरहरुलाई पर्थको चिडियाखानामा हामीले देख्न पायौं । कंगारु अष्ट्रेलियामा मात्रै पाइने जनावर हो र योे अष्ट्रेलियाको राष्ट्रिय जनावर पनि हो । यसलाई हामीले पहिलो चोटि देख्यौं र कंगारुहरुको बथान भएको ठाउँमा फोटो खिच्यौं ।

पर्थमा केही दिन बसेर हामी अर्को राज्य कुइन्सल्याण्ड (Queensland) को राजधानी ब्रिस्बेन (Brisbane) गयौं । एक साँझ माउन्ट कुथा (Mount Kootha) गएर ब्रिस्बेन शहरको अवलोकन गरियो र त्यसपछि शहरको केही भाग घुमियो । ब्रिस्बेनमा संसद भवन -Parliament House_, Queensland University of Technology, Woody Point Jelly, Mooloolaba Beach, Sun Rise Coast आदि ठाउँमा गयौं । एक दिन ब्रिस्बेनबाट करीब डेढ घण्टा पर्ने अर्को सुन्दर शहर गोल्ड कोेष्ट (Gold Coast) हेर्न गयौं । समुद्रको किनारमा अवस्थित यो शहरका गगनचुम्बी घरहरु अष्ट्रेलियाका सबभन्दा पहिला अग्ला घरहरु भन्ने थाहा भयो ।

त्यसपछि हामी सिड्नी (Sydney) गयौं । सिड्नी न्यू साउथ वेल्स् (New South Wales) राज्यको राजधानी हो । सिड्नीमाLa Perouse Beach, Bondi Beach, Watsons Bay, Manley Beach, Gokul Dham, Blue Mountains, Anna Bay, Caves Beach, Palm Beach आदि ठाउँहरु गयौं र ती सुन्दर ठाउँहरुको बारेमा जानकारी लियौं । सिड्नीको Circular Quay बडो राम्रोसँग बनाइएको छ र त्यहाँबाट सिड्नी ओपेरा हाउस् र सिड्नी हार्बर ब्रिज यिनको बिछट्ट सुन्दर वास्तुकलाको कारण संसारभरि नै प्रसिद्ध छन् । सर्कुलर क्वे सिड्नी शहरको केन्द्रमा छ जहाँबाट फेरी (Ferry), बस, ट्राम, ट्रेन विभिन्न ठाउँमा जान्छन् । यहाँ खुला ठाउँ छ र वरिपरि रेस्टुराँहरु छन् । मानिसहरु, खास गरी साँझपख, खाना खाँदै या पेय पदार्थ लिंदै आधुनिकताको चमत्कार तथा प्राकृतिक सुन्दरता अवलोकन गर्दै रमाउँछन् ।

त्यसपछि हामी सिड्नीबाट Helensberg Hindu Temple, Kiama शहर र Jervis Bay हुँदै अष्ट्रेलियाको संघीय राजधानी क्यान्बेरा (Canberra) गयौं । क्यान्बेरामा मुख्य गरी Parliament House र War Museum हेर्‍यौं । संसद भवन भव्य र सुन्दर छ । भवनको अवलोकनका लागि मानिसहरुलाई भित्र जान दिंदो रहेछ । हामीहरु पनि भित्र गयौं । विभिन्न कोण तथा हलहरु हेर्‍यौं । छतमा गयौं । छतमा एउटा अग्लो स्तम्भमा अष्ट्रेलियाको झण्डा फहराइरहेको छ, जसलाई धेरै टाढाबाट देख्न सकिन्छ । संसद भवन पनि अलि उच्च ठाउँमा नै छ । छतबाट क्यान्बेरालाई राम्रैसँग देख्न सकिन्छ ।

वार म्यूजियम तीन खण्डमा विभाजित छ । एउटा खण्डमा पहिलो विश्वयुद्धको बारेमा जानकारी पाइन्छ भने अर्कोमा दोस्रो विश्वयुद्धको बारेमा । दुवै विश्वयुद्धमा अष्ट्रेलियाले बेलायतलाई सहयोग गरेको र युद्धमा महत्वपूणर् भूमिका निर्वाह गरेको थियो । तेस्रो खण्डमा शीत युद्धको बारेमा जानकारी पाइन्छ ।

क्यान्बेराबाट हामी भिक्टोरिया राज्य (Victoria State) को राजधानी मेल्बर्न गयौं । मेल्बर्न सिड्नी जस्तै एउटा ठूलो शहर रहेछ । बाटाहरु सिड्नीकाभन्दा अलि फराकिला जस्तो लाग्यो । पर्थमा सार्वजनिक बसमा हिंड्दा भाडा तिर्नु नपरे जस्तै मेल्बर्नमा शहरभित्र ट्राममा हिंड्दा भाडा तिर्नुपर्दो रहेनछ । मेल्बर्नमा Yarra Valley को Chocolate Factory र Yering Weinery हेर्न गयौं । येरिंग वाइनरी भिक्टोरिया राज्यकै सबभन्दा पुरानो र प्रसिद्ध वाइनरी रहेछ । चक्लेट फ्याक्ट्रीमा चक्लेट बनाइरहेको देख्न पाइयो । त्यहाँका चकलेट अलि महंगा भए पनि मीठा । त्यसमाथि मेल्बर्नको नजीकै रहेको शहर बालाराटमा बालाराट म्यूजियम हेर्न अवसर मिल्यो जसले भिक्टोरिया राज्यको इतिहास तथा संस्कृतिको बारेमा जानकारी दियो । शहरको नजीकै रहेको सुन खानी पनि हेर्न गयौं । यो हाम्रो लागि नौलो अनुभव थियो । त्यहाँ सानै ठाउँमा पनि धेरै सुन पाइएको कुरा लेखेर राखिएको थियो ।

यसरी मेल्बर्नको छोटो भ्रमण सकेर हामी क्यान्बेरा आयौं र त्यसपछि सिड्नी हुँदै फर्कियौं । यो ४५ दिनको भ्रमणमा थोरै भए पनि अष्ट्रेलियाको इतिहास र वर्तमानलाई बुझ्ने मौका मिल्यो ।

यस परिप्रेक्ष्यमा मानव जातिको उद्भव २० देखि ६० लाख वर्ष अगाडि अफ्रिकामा भएको बताउँछ । धेरै वैज्ञानिकहरुले १५ देखि २० विभिन्न मानवका प्रजातिहरु थिए भनेका छन् । हामो स्यापियन्स (Homo Sapiens) बाहेक अरु प्रजातिहरु विस्तारै समयको परिवर्तनसँगै विभिन्न कारणले लोप भए । ती लोप भएका प्रजातिहरुलाई आर्केइक ह्यूमन्स् (Archaic Humans) भनिन्छ ।

होमो स्यापियन्स् करीब ३ लाखदेखि २ लाख वर्ष अगाडि अफ्रिकामा देखापरेको मानिन्छ । करीब डेढ लाख वर्ष अगाडि उनीहरुमध्ये केही एशिया र युरोपका विभिन्न ठाउँमा सर्दै गए । पूर्वी एशिया, खास गरी मलेशिया, सिंगापुर, ब्रुनाई, फिलिपिन्स, इन्डोनेसिया आदि ठाउँबाट करीब ६५/५० हजार वर्ष अगाडि उनीहरुमध्ये केही अष्ट्रेलियाको विभिन्न ठाउँमा गएको बताइन्छ । तिनै व्यक्तिहरुलाई अहिले अष्ट्रेलियामा आदिवासीको नाउँबाट चिनिन्छ । मानिसहरु अमेरिकामा २५ हजार देखि १५ हजार वर्ष अघि देखापरेका बताइन्छ । यी माथिका तिथि-मितिहरुमा मतैक्य चाहिं छैन । विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुको आ-आफ्नै भनाईहरु छन् ।

आधुनिक समयमा युरोपबाट डचहरु सन् १६०६ मा अष्ट्रेलिया पुगे । विलेम ज्यान्ज् (Willen Jansz) नाउँ गरेका अन्वेषक आफ्ना केही साथीहरुसँग त्यहाँ पुगेका हुन् । डचहरु अष्ट्रेलियाको उत्तरी, पश्चिमी खास गरी दक्षिणी तटीय क्षेत्रमा पुगे । उनीहरुले आफू पुगेको ठाउँलाई न्यू होल्यान्ड (New Holland) भन्ने नाउँ दिए, जुन धेरै समयसम्म कायम रह्यो । पछि यो ठाउँ उपनिवेश बनाउनका लागि अनुपयुक्त ठानी उनीहरु फर्किए ।

त्यसपछि सन् १७७० मा कूक नाउँ गरेका बेलायती अन्वेषक सिड्नी पुगे र उनले यो भूभाग बेलायतको हो भनी दाबी गरे । त्यस बेला बेलायतमा जर्ज तृतीय राजा थिए र कूकले उनको अनुमति र अधिकार लिएर आएका थिए । त्यसपछि सन् १७८८ मा विभिन्न अपराध गरेका व्यक्तिहरुलाई सजाय दिने हिसाबले सिड्नी पठाइयो । सन् १८०३ मा म्याथेउ फ्लिन्डर्स नाउँ गरेका बेलायती अन्वेषकले आफ्नो पानी जहाजमा पूरै यो देश घुमेर यो सागरहरुले घेरिएको एउटै सिङ्गो ठूलो भूभाग भएको पत्ता लगाए । उनैले यो देशको नाउँ ‘ अष्ट्रेलिया’ राखे जसको अर्थ दक्षिण भूमि हुँदो रहेछ । त्यसपछि यो देशको नाउँ अष्ट्रेलिया कायम हुँदै आएको छ ।

विस्तारै समय बदलिंदै गयो र युरोपका विभिन्न मुलुक तथा चीनबाट मानिसरु अष्ट्रेलिया आउन थाले । पछि आएर अष्ट्रेलियामा बेलायतका ६ वटा उपनिवेशहरु बने । ती ६ वटा उपनिवेशहरु हुन् :
१) न्यू साउथ वेल्स्— राजधानी सिड्नी,
२) भिक्टोरिया — राजधानी मेल्बर्न,
३) क्वीन्सल्यान्ड — राजधानी ब्रिस्बेन,
४) ताजमेनिया — राजधानी होवार्ट,
५)वेस्टर्न अष्ट्रेलिया  — राजधानी पर्थ र
६) साउथ अष्ट्रेलिया — राजधानी एडिलेड ।

यी उपनिवेशहरु आफैं शासन गर्दथे, तर तिनीहरु बेलायती संसदको अधीनमा थिए ।

सन् १९०१ म ६ वटै उपनिवेशहरुले अष्ट्रेलियालाई एक शक्तिशाली राष्ट्र बनाउने निणर्य गरे र The Commonwealth of Australia बनाए । अहिले अष्ट्रेलियामा प्रजातान्त्रिक संघीय शासन प्रणाली छ र तिनै ६ वटै उपनिवेशहरु ६ राज्य भएका छन् । ती बाहेक अष्ट्रेलियन क्यापिटल टेरिटोरी (The Australian Capital Territory) र नर्दर्न टेरिटोरी (The Northern Territory) छन् । अष्ट्रेलियाकोे संघीय राजधानी The Australian Capital Territory को क्यान्बेरामा छ भने The Northern Territory को राजधानी डार्विन हो ।

अष्ट्रेलियाको ३ भाग भूमिमध्ये २ भाग मरुभूमि छ । तटीय क्षेत्रमा राम्रा र सुन्दर शहरहरु छन्, जस्तै — ब्रिस्बेन, सिड्नी, मेल्बर्न, एडिलेड, पर्थ आदि । कृषिको क्षेत्रमा पनि अष्ट्रेलिया अगाडि देखिन्छ । आफूलाई आवश्यक पर्ने करीब सबै खाद्यान, तरकारी तथा फलफूल आफैं उत्पादन गर्दछ र साथै विभिन्न मुलुकमा निर्यात पनि गर्दछ । अष्ट्रेलियन भेडाको मासु संसारभरि नैै प्रसिद्ध छ । भेडा र गाईको मासु विभिन्न मुलुकहरुमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्दछ । अष्ट्रेलियाका विभिन्न ठाउँमा वाइनको राम्रो उत्पादन हुन्छ; विभिन्न ठाउँमा वाइनरीहरु देख्न पाइन्छन् । वाइनको निर्यातले पनि राष्ट्रिय अर्थतन्त्रलार्य टेवा दिएको छ । अष्ट्रेलियाले यातायातका सानाठूला साधनहरु (कार, बस, ट्रक, हवाइजहाज, हेलिकप्टर आदि), मशीनरी सामानहरु -कम्प्युटर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक उपकरणहरु आदि), औषधिहरु, प्रशोधित पेट्रोलिय पदार्थहरु, हिउँदको समयमा ताजा फलफूल र तरकारीहरु आदि चाहिं आयात गर्दो रहेछ ।

अष्ट्रेलियनहरु प्रकृति संरक्षणलाई ठूलो महत्व दिन्छन् । त्यहाँ अत्यन्तै विषालु सर्प, बिच्छी तथा हिंस्रक जनावरहरु पाइन्छन् । तर तीनिहरुलाई मार्न पाइदैन । तटीय क्षेत्रमा सुन्दर हरिया पहाडहरु छन्; ठाउँठाउँमा मनमोहक उपत्यकाहरु । ट्रपिकल वर्षा वनका लागि पनि अष्ट्रेलिया प्रसिद्ध छ । अष्ट्रेलियाको पश्चिममा हिन्द महासागर पर्दछ भने पूर्वमा प्रशान्त महासागर । यी महासागरहरुले घेरिएको अष्ट्रेलियामा अनगिन्ती आकर्षक समुद्री तटहरु छन् । संसारकै मानिसहरु यहाँ आएर रमाउन चाहन्छन् ।

अष्ट्रेलियामा आदिवासी संस्कृति लाई सम्मानको दृष्टिबाट हेरिन्छ, यद्यपि आदिवासीहरुका केही गुनासा र असन्तुष्टिहरु छन् । कतिपय ठाउँहरु, स्मारकहरु, संग्रहालयहरु आदिलाई आदिवासीहरुको पहिचान हुने गरी नामाकरण गरिएको छ । बेलायतको ठूलो प्रभाव छ । त्यहाका कतिपय सडकहरु, चोकहरु तथा भवनहरुलाई बेलायती राजा वा रानीको नाम दिईएको छ; जस्तै — George Square, Victoria Garden, Victoria House आदि । राज्यहरुको नाउँमा नै बेलायतको ठूलो प्रभाव छ; जस्तै — Queensland, New South Wales, Victoria आदि । अहिले पनि अष्ट्रेलियाको राष्ट्र प्रमुख (Head of the state) बेलायतका राजा नै छन्; यद्यपि यस विषयलाई लिएर केही व्यक्तिमा असन्तुष्टि छ ।

अष्ट्रेलियामा विभिन्न खानीहरु छन् । कोइला, सुन, तामा, युरेनियम, हिरा, फलाम प्रशस्त पाइन्छन् । एल्युमिनियम, लिथियम, सीसा, जिंक, प्राकृतिक ग्यास, निकल आदि पाइन्छन् । यी खनिजहरु चीन, भारत, दक्षिण कोरिया, जापान लगायत अन्य मुलुकहरुमा निर्यात गरी देशको अर्थतन्त्रलाई एउटा सम्वृद्ध राष्ट्र देखिन्छ । तल दिइएको केही मुलुकहरुको GDP Percapita आयले सो कुरालाई पुष्टि गर्दछ । तथ्यांक अमेरिकी डलरको आधारमा दिइएको छ:

नेपाल (२०२३) १,३२५.००
भारत (२०२३) २,४८४.०८
पाकिस्तान (२०२३) १,४०७.००
श्रीलंका (२०२३) ३,८२८.००
माल्दिभ्स (२०२३) १२,६६७.०४
भुटान (२०२२) ३,७०४.००
बंगलादेश (२०२३) २,५२९.०१
अष्ट्रेलिया (२०२३) ६६,५८९.०५

अष्ट्रेलिया दक्षिणी गोलार्द्धमा पर्दछ भने नेपाल उत्तरी गोलार्द्धमा । त्यसैले नेपालमा गर्मी हुँदा त्यहाँ जाडो हुन्छ भने नेपालमा जाडो हुँदा त्यहाँ गर्मी । हामी असार ११ गते अष्ट्रेलिया पुग्दा त्यहाँ जाडो थियो र बेला बेलामा भएको वर्षाले जाडो झन् बढेको थियो । शायद शहरहरु समुद्र नजीकै भएकाले होला, हावा पनि निकै चल्दोरहेछ ।

अष्ट्रेलियाको विद्यालय शिक्षालाई संसारकै राम्रोमध्ये एक मानिन्छ । त्यहाँ सरकारी तथा निजी विद्यालयहरु छन् । विद्यालयमा व्यवहारिक तथा औद्योगिक सीपमूलक शिक्षा दिइन्छ । उच्च शिक्षा अध्ययन गर्न नचाह्ने व्यक्तिले विद्यालय शिक्षा पूरा गरेपछि रोजगारीमा लाग्न सक्तछन् । उच्च शिक्षाका लागि ३८ वटा सरकारी तथा २ वटा निजी विश्वविद्यालयहरु छन् । तीमध्ये केही अन्तर्राष्ट्रियस्त्तरका छन् । त्यसैले संसारका विभिन्न देशका विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि त्यहाँ आउँछन् ।

अष्ट्रेलिया एउटा ठूलो देश भएर पनि त्यहाँको जनसंख्या करीब साढे २ करोड मात्रै छ । त्यसैले अष्ट्रेलियन सरकारले आफ्ना जनताको स्वास्थ्यको विशेष ख्याल गर्न सकेको देखिन्छ । त्यहाँ रोगको उपचारभन्दा पनि रोग नै लाग्नुहुँदैन भन्ने मान्यता रहेछ । नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्यको विशेष ख्याल गरिंदोरहेछ । त्यहाँ सरकारी तथा निजी दुवै खालका अस्पतालहरु छन् । सरकारी अस्पतालमा धेरै सुविधाहरु छन्, तर उपचारको लागि चाहिं अलि समय लाग्दो रहेछ ।

यसरी अष्ट्रेलिया एउटा लामो इतिहास भएको देश हो र आधुनिक समयमा यसले विकसित देशको रुपमा संसार सामु आफूलाई उभ्याएको छ । यसमा पाइने अपार प्राकृतिक तथा खनिज सम्पदालाई मुलुकको आधुनिक विकासका लागि सफल प्रयोग गरेको छ । कृषि र उद्योगधन्दामा प्रशंसनीय काम भएका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, सडकपूर्वाधा र यातायात, बिजुली आदिमा सरकारले उल्लेखनीय रुपमा लगानी गरेको छ । अष्ट्रेलियामा मिश्रित अर्थ प्रणाली छ र संघीय, प्रान्तीय र स्थानीय सरकारहरुले नागरिकहरुको सुखसुविधाका लागि जिम्मेवारीबोधका साथ आफ्नो दायित्व निर्वाह गरेका छन् । नागरिकहरु स्वतन्त्र र खुशी छन् ।

हाम्रो अष्ट्रेलिया भ्रमण सफल पार्नका लागि सहयोग गर्नुहुने सम्पूणर् महानुभावहरुलाई हार्दिक धन्यवाद दिन्छौं ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय