गृहमन्त्री भएपछि को-को पुगे जेल ? रवि छैटौं !

काठमाडौं । नेपालमा प्रधानमन्त्री पछिको शक्तिशाली मानिने गृहमन्त्रालय प्रायः सबैको रोजाइ पर्छ। सत्ता भागबन्डा गर्दा पनि गृहमन्त्री कसलाई दिने र को बन्ने ? भन्ने कुराले ठुलो अर्थ राख्ने गरेको छ। पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा २०४८ मा गृहमन्त्री थिए। २०५२ मा उनी प्रधानमन्त्री बने। त्यसपछि ५ पटक प्रधानमन्त्री भएका देउवा कांग्रेसको सभापति छन् ।

हालका प्रधानमन्त्री केपी शर्मा ओली पनि २०५१ मा गृहमन्त्री थिए। उनी नेकपा एमालेको अध्यक्ष छन् । गृहमन्त्री भइसकेपछि सत्ता र शक्तिमा पावर बढ्ने कुरा ग्यारेन्टी छ। तर,केही यस्ता गृहमन्त्री पनि छन् जो जेल सम्म पुगेका छन् । शुक्रबार मात्रै रास्वपा सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनी हाल कास्की प्रहरीको हिरासतमा छन् ।

गृहमन्त्री भैसकेर पक्राउ पर्ने मध्ये रवि छैटौं पुर्व गृहमन्त्री हुन् । यस अघि नेपाली कांग्रेसका ४ जना र माओवादी केन्द्रका १ जना नेता जेल पुगेका छन् । पुर्व गृहमन्त्री कांग्रेस नेता बालकृष्ण खाड,खुमबहादुर खड्का,गोबिन्दराज जोशी र बिजय गच्छदार सहित माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा जेल परे। ती मध्य कसैको पनि राजनीति सुखद छैन। खुमबहादुर खड्काको भने निधन भैसकेको छ। जोशीले कांग्रेस छाडेका छन् भने गच्छदार र खाड पार्टीमा नै छन् । महराको पनि पार्टीमा पद छ तर इज्जत र प्रतिष्ठा छैन।

रवि लामिछाने सहित ६ जना नै पुर्वगृहमन्त्रीलाई फौजदारी मुद्दा लागेको हो। लामिछाने यसअघि पत्रकार रहेकै बेला शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा चितवन प्रहरीको हिरासत पुगेका थिए। २०७९ मंसिर ४ गतेको आमनिर्वाचनमा चितवन २ बाट निर्वाचित भएपछि पहिलोपल्ट गृहमन्त्री हुँदा ३२ दिन मात्रै पदमा बस्न पाए।अमेरिकी नागरिक भैसकेपछी पनि नेपाली नागरिकता बोकेर हिडेको भन्दै उनको पद गयो। अझै राहदानी मुद्दामा उनी अनुसन्धान मै छन् ।

यतिबेला भने रवि लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका हुन् ।पार्टी गठन गर्नुअघि उनी प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया ग्रुपमा पोखराको सुर्यदर्शन सहकारीको ६५ करोड रुपैया अध्यक्ष जिबी राईले ल्याएको र सो रकम अपचलनमा रवि पनि दोषी हुनसक्ने भन्दै पक्राउ गरिएको हो।

त्यसैगरी स्व.खुमबहादुर खड्का सर्वोच्च अदालतबाटै भ्रष्टाचार मुद्दामा दोषी ठहर भई कैद सजाय पाएका पुर्व गृहमन्त्री हुन् । उनी २०५२ असोज ५ देखि २०५३ फागुन २८ सम्म पहिलो कार्यकाल र २०५४ मंसिर १८ देखि २०५५ वैशाख ७ सम्म दोस्रो कार्यकाल गृहमन्त्री भएका थिए।

उता तनहुँका गोविन्दराज जोशीलाई पनि सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिसकेको छ। गत साउन १३ गते उनलाई ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैदको सजाय सुनाइएको छ। जोशी २०५५ वैशाख ८ देखि २०५६ असार १५ सम्म गृहमन्त्री थिए।

यसैगरी माओवादीबाट गृहमन्त्री भएका पूर्वसभामुख कृष्णबहादुर महरा भने जबरजस्तीकरणी उद्योग (प्रयास) को अभियोगमा जेल परे। यद्यपि उनले पछि सफाइ पाए। २०७६ असोज १९ मा पक्राउ परेका उनी २०७६ फागुन ५ गते जिल्ला अदालतबाट सफाइ पाएर रिहा भएका थिए। त्यसपछि पनि महराले सुन तस्करी प्रकरणमा हिरासत पुग्नुपर्‍यो।

अर्का पुर्व गृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा जेल बस्नुपर्‍यो। २०८० वैशाख २७ गते पक्राउ परेका उनलाई २०८० मंसिर २८ गते ३० लाख रुपैयाँ धरौटीमा रिहा गरिएपनी मुद्दा  सकिएको छैन। त्यसैगरी विजयकुमार गच्छदार बालुवाटारको ललितानिवास जग्गा घोटाला प्रकरणमा मुछिएका पुर्व गृहमन्त्री हुन् । उनी अझै सो मुद्दामा सफाइ पाइसकेका छैनन् । उनको अर्को भ्रष्टाचार मुद्दामा पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक्सन लिनसक्ने अझै संभावना छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय