जितुको चलचित्र ‘ज्वाइँ साब’लाई दर्शकले पत्याए

दसैंको छेको पारेर प्रदर्शनमा आएका ४ वटा नेपाली चलचित्र अहिलेपनी हलमा प्रदर्सनरत छन् । दर्शकले प्रतीक्षा गरिरहेका यी सबै चलचित्र एकैपटक प्रदर्शनमा आउँदा दर्शकले कस्तो साथ देलान् र प्रतिक्रिया कस्तो आउला ? भन्ने सबैलाई लागेको थियो।
घटस्थापनामा रिलिज भएको निश्चल बस्नेत र स्वस्तिमा खड्काको बेहुली फ्रम मेघौलीले ५ दिनसम्म एक्लै प्रदर्शन हुन पायो। जसले गर्दा लगानी सुरक्षीत गर्न सजिलो भयो। त्यसपछि असोज २४ गते फुलपातीको दिनदेेेखि जितु नेपाल र नीति चन्द अभिनित चलचित्र ‘ज्वाइँ साब’, बिराज भट्टको चलचित्र ‘१२ गाउँ’ र दिपकराज गिरि अनि दिपाश्री निरौलाको चलचित्र ‘छक्कापन्जा ५’ प्रदर्सनमा आए। यी सबै चलचित्रले दर्शकको साथ पनि पाएकै छन् ।
तर,नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय बढ्दै गएको अस्वस्थ प्रतिस्पर्धा र एक अर्कामा गाली गर्ने प्रवृत्तिले यी चलचित्रका कलाकार र प्रदर्शकलाई समेत छाडेन। चलचित्र प्रदर्शनमा आउनु अगाडिनै कलाकारलाई विवादमा तान्ने र चलचित्रको नकारात्मक कमेन्ट गर्ने तथा अनावश्यक प्रतिक्रिया दिन लगाएर दर्शक भड्काउने प्रयास भएको थियो। जसले गर्दा केही कलाकार विवादमा पनि तानिए र केहिले माफी समेत मागेको चर्चा भयो।
जब चलचित्र प्रदर्सन नजिक आयो अनि हलमा शो बाडफाडमा पनि ठुलो राजनीति गरियो।खासगरी दिपकराज गिरि र जितु नेपाललाई लडाएर फाइदा लिन खोज्ने एकाथरी चलचित्रकर्मी नै देखिए भने बिराज भट्टलाई पनि त्यो ग्रुपले गिज्याइ रह्यो।तर,चलचित्रका निर्देशक,निर्माता र कलाकार सबैले यसमा सचेत भएर बाहिरी हल्ला नसुनी आफ्ना चलचित्र प्रचारप्रसारमै खटिए। यसमा जितु नेपाल सबैभन्दा बढी स्वच्छ र इमानदार देखिए। उनले कसैलाई नकारात्मक भनेनन् तर,उनको कुरालाई पचाउन नसकेर धेरैले बङ्ग्याउन चाहिँ खोजे।
अर्को कुरा के भने छक्का पन्जाको निर्देशन टिम भित्रकै दिपाश्रीले नै गरेको र १२ गाउँको निर्देशक पनि बिराज आफैं भएकोले अनि उनीहरुको आफ्नै हल समेत र कतिपय हलमा प्रभाव पनि भएकोले शो बढी लिन सके। साथमा समय समेत मिलाए। तर,जितु नेपालको चलचित्रलाई कतिपय हलमा शो नै दिइएन र दिएकोमा समेत बिहान ६ बजे र राती ११ बजेको शो दिइयो। बिहान उठ्नु अगाडि र राती सुत्नेबेलामा को दर्शक पाउनु !
उता, ज्वाइँ साबको निर्देशक वसन्त निरौला नयाँ भएको र जितु नेपाल माथी छक्कापन्जा टिमकै केही ब्यक्तिबाट चौतर्फी प्रहार भैरहेको कारण पनि उनीहरुको चलचित्रलाई केही हलहरुले नपत्याएर शो कम दिएको देखिन्छ । शो बाड्दैमा अन्याय गरिएको ‘ज्वाइँ साब’ जब दर्शकले हेर्न पाए त्यसपछि जितु,नीति र बसन्तको कामको प्रशंसा हुनथालेको छ। जसका कारण अहिले कतिपय हलमा शो बढेको छ भने भएको शो पनि दर्शक भरिभराउ छन् ।
हल्ला र वास्तविकता के हो भन्ने बुझेपछि दर्शकले जितु नेपाल,नीति शाह,बुद्धि तामाङ,प्रकाश घिमिरे,हिमेश पन्त,रमेश बुढाथोकी अभिनित चलचित्र ज्वाइँ साबलाई ५ मा ५ नै रेटिङ दिन थालेका छन् । कमेडी जनराको यो चलचित्रले हलमा बसुन्जेल दर्शकलाई मज्जाले मनोरञ्जन दिनेछ। कुनै पट्यारलाग्दो दृश्य वा कुनै अनावश्यक शब्द यसमा भेटिन्न। चलचित्र हेरिसकेपछी दर्शकले दिने सकारात्मक प्रतिक्रियाले यो चलचित्रलाई लगानी सुरक्षीत गर्न कठिन हुने छैन। निर्देशक वसन्त निरौलाको निर्देशकिय क्षमताको पनि कदर गर्न सकिन्छ। कलाकारको अभिनयमा खोट लगाउने ठाउँ भेट्न मुस्किल छ।
त्यसैले चलचित्र निर्माण हुँदै गर्दा र प्रदर्शनमा आउँदै गर्दा केही चलचित्रकर्मीले खिस्सी गरेपनी वा हल मालिकले शो दिने बेला नपत्याए पनि जितु नेपालको चलचित्र ज्वाइँ साबलाई दर्शकले मज्जाले पत्याइदिएका छन् । दर्शकले पत्याएपछी चलचित्रले दिनप्रतिदिन राम्रो प्रतिक्रिया पाइरहेको छ।

