आज विजयादशमी, टीकाको उत्तम साइत विहान ११ बजेर ३६ मिनेटमा

काठमाडौं, २६ असोज । बडादशैंको सबैभन्दा महत्वपूर्ण दिन आज विजयादशमी मनाइँदै छ । आज मान्यजनको हातबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व मनाइँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकिदिएको छ । यद्यपि दिनभर जुनसुकै समयमा टीका लगाउन सकिने छ ।

‘टीका-जमरा देवीको प्रसाद हो, प्रसाद भन्ने कुरा जुन समयमा लगाए पनि हुन्छ,’ नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले भने, ‘आज बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि जुनसुकै समयमा मान्यजनबाट टीका–जमरा लगाएर आशिर्वाद लिन सकिन्छ ।’

‘साइतमा मिल्छ भने ११ बजेर ३६ मिनेटको साइतमै लगाउने, मिल्दैन भने आफ्नो अनुकूल जुन बेला मिल्छ, त्यहीबेला लगाउने,’ प्रा.डा. गौतमले भने ।

सामान्य मानिसले जुनसुकै समयमा टीका लगाए पनि राज्य सन्चालकले भने उत्तम साइतमै टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारी बताउँछन् ।

नेपालका कतिपय स्थानमा कोजाग्रत पूर्णिमाको दिनसम्मै आफन्तकोमा गएर टीका लगाउने चलन पनि छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय