तुलसी घिमिरेको चलचित्र ‘पहाड’को गीतमा विपिनको र्याप

काठमाडौं ।निर्देशक तुलसी घिमिरे ७ वर्षपछि नेपाली चलचित्र निर्देशनमा कमब्याक गर्दैछन् । दर्पणछायां-२ निर्देशन गरेपछि उनले कुनै चलचित्र निर्माण र निर्देशन गरेका छैनन् ।
अब भने घिमिरेले निर्देशन गर्न लागेको फिल्म ‘पहाड’को चर्चा सुरु भएको छ। यो चलचित्रको चर्चा यसकारण पनि हुन थालेको छ कि यसमा अभिनेता विपिन कार्कीले नायक मात्रै होइन गायक समेत बन्ने पक्का भएको छ। चलचित्रको एक गीतमा अभिनेता विपिन कार्कीले आफ्नो स्वर दिएका छन् ।
काठमाडौंको महाराजगञ्जस्थित भेनस रेकर्डिङ स्टुडियोमा अभिनेता कार्कीले र्याप गीत गाएका हुन् । उनले यसअघि फिल्म ‘छड्के’को ‘भुटुटुटु’ गीत पनि गाएका थिए । ‘पहाड’को गीतमा विपिनलाई भारती घिमिरे (तुलसी घिमिरेकी श्रीमती) लगायतले गायनमा साथ दिएका छन् ।
गीतमा रञ्जीत गजमेरको संगीत तथा निर्देशक घिमिरे स्वयंको शब्द रचना छ । संगीतकार गजमेरले लामो समयपछि नेपाली फिल्मको गीतमा संगीत भरेका हुन् । कुनै बेला उनले संगीत भरेका ‘मायाको बारीमा’, ‘माया के होला’, ‘इशाराले बोलाउनु पर्दैन’, ‘सुन् कथा एउटा गीत’, ‘सुन् भनन्’, ‘साँची रहुँ जस्तो लाग्छ’ जस्ता कयौं गीत चर्चित छन् ।नाताले उनी निर्देशक घिमिरेका ससुरा अर्थात भारती घिमिरेका बुबा हुन् ।
आगामी कात्तिकपछि छायांकनको तयारी गरिएको फिल्ममा विपिन मुख्य भूमिकामा देखिनेछन् भने मदनकृष्ण श्रेष्ठ, सुनील थापा लगायतका कलाकार पनि निश्चित भइसकेका छन् । निर्देशक घिमिरेले फिल्ममा अर्का एक चल्तीका अभिनेता र एक नव-अभिनेत्री पनि रहने जानकारी दिए ।
फिल्मको ५० प्रतिशत नेपालका विभिन्न पहाडी भेगमा र ५० प्रतिशत मुम्बईमा छायांकन हुने जनाइएको छ । प्रि-प्रोडक्सनको अन्तिम चरणमा रहेका फिल्मको प्रोडक्सन डिजाइनरमा निर्देशक घिमिरेकी छोरी भावना घिमिरे छिन् । पछिल्लो समय बढ्दो बसाइँसराइले रित्तिँदै गएको पहाडी भूगोलको कथामा फिल्म बन्न लागेको हो ।

