दसैंअघि मेलम्चीको पानी काठमाडौं ल्याउने गफ मात्रै !
काठमाडौ।सरकारले असोज १० अघि नै मेलम्चीको पानी काठमाडौं ल्याउने भनेर दिएको वचन गफ मात्रै भएको छ। हिजो १० असोजसम्म मेलम्ची पानी ल्याउने बारे कुनै अत्तोपत्तो भएन।
सरकारले वर्षा सुरुभएपछी काठमाडौं आउने पानीको मुहान बन्द गरेको थियो। बाढी र पहिरोले क्षति पुर्याउने डरले बन्द गरिएको पानी असोज लाग्ने बित्तीकै काठमाडौं ल्याउने तयारी थियो। तर,सरकारले काठमाडौंमा पानी ल्याउने हो भने सुरुमा सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीका स्थानीयबासीको माग पूरा गर्नुपर्ने भएको छ ।
मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले असोज ९ गते बुधबारदेखि नै विभिन्न माग राखेर काठमाडौं पानी लैजान नदिनेगरि आन्दोलन थालेका छन् । यतिमात्र होइन मेलम्चीको सुरुङ निर्माण गरेको यसअघिको इटालियन ठेकेदार कम्पनी सीएमसी दि रेभेनाबाट पीडित भएका स्थानीय ठेकेदारहरू समेत आन्दोलनको तयारीमा छन् ।
मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति र ठेकेदारका छुट्टाछुट्टै मागले सरकार अफ्ट्यारोमा पर्ने निश्चित छ भने मेलम्चीको पानी काठमाडौं आउने अनिश्चित छ।मेलम्ची खानेपानी आयोजनास्थलमा सुरु भएको आन्दोलनका माग समाधानका लागि खानेपानी मन्त्रालयलाई पत्राचार गरिएको भएपनि मन्त्रालयले कुनै तयारी गरेको देखिदैन।मेलम्ची बाढी पहिरो पीडितले छुट्टै सडक बनाउन माग समेत गरेका छन् ।यो तत्काल संभव हुने देखिदैन ।त्यसैले समयमै सरकारको चासो नदिदा मेलम्ची पानी खाएर दसैं मनाउने काठमाडौंवासीको सपना पूरा हुनेमा शंका छ।
मेलम्ची खानेपानीको मुहानस्थलमा वर्षा भइरहेको र पानी पठाउने तयारी गर्न झण्डै थप एकसाता लाग्ने देखिन्छ तर,स्थानीयले आन्दोलन गरेपछि काम सुरु हुनै पाएको छैन। यद्यपि खानेपानीको मुहानस्थलमा यो वर्षायाममा क्षति भएको छैन।
तर,स्थानीयले आयोजना स्थलमा जान अवरोध गरेकोले पानी पठाउन समस्या भएको हो। प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा रहेकाले तत्काल मन्त्रीपरिषद बैठक बस्ने अवस्था पनि छैन। खानेपानी मन्त्रालयले मात्रै केही गर्न सक्ने अवस्था नभएकाले र स्थानीयलाई आश्वस्त पार्न उनीहरूको माग सम्बोधनबारे छलफल सुरुहुन्छ ।’हाम्रा माग पूरा नगरी मेलम्चीको पानी लैजान नआउनुस्’ भनेर स्थानीयले मेलम्ची कर्मचारीलाई खबर गरेका छन् ।त्यसैले जबर्जस्ती काम अघि बढाउने अवस्था छैन।
२०७८ साल असार १ र साउनमा आएको भीषण बाढीका कारण मेलम्ची नदीको दुवैतर्फ सडक, पुल, स्थानीयको घर, खेत, बारीमा ठुलो क्षति पुगेको थियो ।बाढीले हेलम्बु र मेलम्चीमा ठुलो क्षति पुर्याए पनि सरकारले नहेरेका कारण बाढी पहिरो पीडितले आन्दोलन गरेको स्थानीय जनप्रतिनिधिको भनाइ छ।