कांग्रेसमा ४० वर्ष मुनिका युवा केन्द्रीय सदस्य नहुनु दु:खद-डा.शशांक
काठमाडौं ।नेपाली कांग्रेसका पुर्व महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा.शशांक कोइरालाले पार्टीमा ४० वर्ष मुनिका एक जना पनि युवा केन्द्रीय सदस्य नहुनु राम्रो संकेत नभएको बताएका छन् ।
नेपाली कांग्रेस दाङले बिहीबार घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महामानव स्व.वीपी कोइराला पुत्र समेत रहेका पूर्वमहामन्त्री कोइरालाले कांग्रेसलाई संगठित, सशक्त र चलायमान बनाउन युवापुस्तालाई नेतृत्वमा ल्याउन जरूरी रहेको बताए।
डा.कोइरालाले पार्टी बनाउन युवाहरू नेतृत्वमा आउन जरूरी रहेको भन्दै ४० वर्ष मुनिका एउटा पनि युवा पार्टीको केन्द्रीय सदस्य नरहेकोमा दु:ख लागेको जिकिर गरे। पार्टीमा युवा आकर्षण बढाउन आवश्यक रहेकोमा जोड दिदै उनले यो कांग्रेसको भविष्यको लागि राम्रो संकेत नरहेको बताए।
पार्टीको विधान संशोधन गरेर भए पनि युवालाई स्थान दिनुपर्ने उनको तर्क थियो।‘भाषणमा मात्रै युवाका कुरा गरेर हुँदैन, व्यवहारमा पनि युवाको प्रतिनिधित्व पार्टीमा हुनुपर्छ,’ उनले भने, ‘पार्टीले नेतृत्व तहमा मात्र होइन सरकारमा पनि युवा प्रतिनिधित्व बढाउनका लागि ध्यान ध्यान दिन जरूरी छ।’
पार्टीका भ्रातृ संगठनहरू नेपाल विद्यार्थी संघ, तरूण दल लगायतलाई क्रियाशील बनाउँदै समयमै निर्वाचन हुने वातावरण बनाउन आवश्यक रहेको भन्दै उनले युवा उत्पादन हुने संगठनहरू नै निष्क्रिय जस्तो बन्दा कांग्रेस थप कमजोर बन्न सक्ने चिन्ता पनि व्यक्त गरे।
डा.कोइराला आगामी १५ औं महाधिवेशनमा पार्टी सभापति उठ्ने चर्चा चलिरहेका बेला युवाहरूलाई लक्षित गरि उनले व्यक्त गरेको यो धारणामा धेरै युवाले खुशी व्यक्त गरेका छन् ।उनी आगामी महाधिवेशनमा सभापति उठ्ने कुरामा हालका सभापति शेरबहादुर देउवा समेत सकारात्मक देखिएका छन् ।