विरोधको नाममा आफू सर्वाङ्ग नाङ्गो नहोऔं !

रामचन्द्र भट्ट

जन्मभूमिबाट टाढा आएर बसिसकेका हाम्रा लागि नेपालबाट आउने हरेक व्यक्ति पाहुना हुन् । चाहे राजनीतिक व्यक्ति हुन् या सामाजीक, प्रशासनिक कर्मचारी हुन् या सेना-प्रहरीका अधिकारीहरु या सर्वसाधारण ।

उहाँहरुलाई भौतिक रुपमा उपस्थित हुन नसके मनले भएपनि स्वागत गर्ने, विकसित देशका प्रविधि, विकास बुझेर जाउन्, नेपालमा त्यसलाई कार्यान्वयनको लागि प्रयास होस् भनेर शुभेच्छा सद्भाव व्यक्त गर्नु हाम्रो कर्तव्य पनि हो ।

तर, संसारकै विकसित भनिने देशमा आएर, यहाँको सिस्टमलाई राम्रो भन्ने हामीहरु संस्कारमा किन पिछडिएका हौ ? हुनत: डोनाल्ड ट्रम्पलाई आदर्श मान्ने नेपालीले कहाँबाट कसरी संस्कार, सम्मान, अनुशासन सिकुन् ? तेल निस्किन त कित तोरी पेल्नुपर्यो, नभए तिल, बदाम, आलस,भटमास वा ओलिभ पेल्नुपर्छ । बालुवा पेलेर, ढुंगा पेलेर किन तेल आउँथ्यो र ?

न्यूयोर्क आएका नेपालका प्र.मं. केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु देउवा यतिखेर हाम्रा अतिथि हुन् । अहिले सहकारी प्रकरणमा परेका रवि लामिछाने नै अमेरिका आइपुगे भने पनि हाम्रा निम्ति पाहुना हुन् । सके यथोचित सम्मान, नसके विरोध गर्नु, कालो झण्डा, जुत्ताको माला यो अराजकता र अनुशासनहिनताको पराकाष्ठा हो ।

उनीहरुसँग चासोका कुरा राख्ने, सरोकारका विषयमा ध्यानाकर्षण गर्ने हो । तर हिजो न्यूयोर्कमा जे भयो त्यो डायस्पोराको लागि हित गर्ने विषय पटक्कै भएन ।

२०१८ सेप्टेम्बरमा ड्यालसमा पूर्व प्रमं बाबुराम भट्टराई माथि जसरी कालोझण्डा देखाइयो, त्यसले हामीलाई नंग्यायो, विवेकहिन पुष्टी गराएको थियो ।

एकातिर हामी एनआरएन नागरिकता होइन, पुरानै नागरिकताको निरन्तरको माग उठाइरहेका छौँ । तर सुनवाई गर्ने, कार्यान्वयन गर्ने सरकार प्रमुख, परराष्ट्र मन्त्री आउँदा विरोध गरेर कार्यक्रम भाँड्छौ । अनि लक्ष्य भेटिन्छ ? समाधान पत्ता लाग्छ ?

भारतीय प्रमं नरेन्द्र मोदी प्रति भारतीय मुस्लिम समुदाय, कांग्रेस आई, खालिस्तान समर्थकहरुको गुनासो, विरोध छ । तर अमेरिकाका कुनै प्रोग्राम मोदीको विथोलिएको छैन । भारतीयबाट पनि राम्रा संस्कार सिकौँ ।

र अन्तिममा एउटा भन्नैपर्ने/बुझाउनै पर्ने विषय-मकै जतिसुकै पड्किएपनि त्यो हाँडीभित्र मात्रै हो । अहिले नयाँशक्ति भनिएकाहरु जतिसुकै चुरीफुरी गरेपनि कांग्रेस, एमालेको निगाहाले सत्ताको स्वाद बेलाबेलामा फेर्ने मात्र हुन् ।

गाईलाई प्रजनन् गराउन बहर नै चाहिन्छ, गोरुले हुँदैन । यी नयाँ भनिएका च्याँखे जुवाडे मात्र हुन् । कांग्रेस, एमाले अझै दुई दशक बलियो हुन्छन् । ठूला पार्टी यिनै हुन्, फेरि चुनाव हुँदा बढी सिट ल्याउने पनि यिनै हुनेछन् । ओली बाँचुन्जेल एमालेमा अर्को अध्यक्ष पनि हुनेवाला छैन ।

तसर्थ-प्रवासमा आएर नेपाली नेताको विरोधको नाममा आफू सर्वांग नहोउँ । कालोझण्डा र विरोधले ईगो मात्र बढाउँछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय