अझै टरेको छैन रविको ‘खड्को’ !

काठमाडौं । प्रहरी घेरा तोडेर मध्यरातमा घर पुगेपछि पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर एउटा स्टाटस लेखे।
उनले त्यसमा आफू माथी षड्यन्त्र भैरहेको भन्ने आशय राखेका छन् । त्यसभन्दा अघि पार्टी कार्यालयमा पनि रविले आफू मान्छे बेचेर राजनीतिमा नआएको बरु बेचिएका मान्छे बचाएर राजनीतिमा आएको बताएका थिए।
सहकारी प्रकरणमा मुछिएका पुर्व गृहमन्त्री लामिछानेलाई प्रहरीले पक्राउ गर्दैछ भन्ने हल्ला फैलिएपछी आइतबार रातिसम्म उनी पार्टी मुख्यालय वनस्थलीमै थिए। बाहिर प्रहरी पनि थियोे । त्यही समय रविले उपलब्ध सबै केन्द्रिय नेतालाई कार्यालय बोलाए भने नेताहरूले कार्यकर्तालाई कार्यालय बाहिर आउन आग्रह गरे। केहिबेरमा हजारौं नेताकार्यकर्ता पार्टी कार्यालयमा जम्मा भएपछि नाराबाजी सुरु भयो।
प्रहरीले पक्राउ गर्न खोजेको भन्ने हल्लाका बिचमा सुमना श्रेष्ठ,बिराजभक्त श्रेष्ठ र हरी ढकालले सम्बोधन गरे। त्यस लगत्तै रवि लामिछानेले सम्बोधन गरे र घर पुगे। उनी पार्टी कार्यालय हुँदा श्रीमती निकिता पौडेल पनि देखिएकी थिइन् ।
मध्यरातमा घरपुगेर रविले फेरि लेखे-‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु,फर्केर आउनुस् , बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि…’
सहकारी प्रकरणमा जिबि राईका साझेदार भनिएका पुर्व डिआईजी छविलाल बन्जाडे दिउसो पक्राउ परेपछि रवि माथी पनि निगरानी बढाएको प्रहरी स्रोतले स्वीकार गरेको छ।गोर्खा मिडिया नेटवर्कमा सहकारीको रकम अपचलन हुँदा लामिछाने पनि मुछिएको भन्दै उनलाई पक्राउ गर्न खोजिएको हुनसक्छ । सुर्य थापा नेतृत्वको छानबिन समितिको प्रतिवेदनमा पनि रविलाई कारबाही सिफारिस गरिएको छ ।यद्यपि रविले त्यसलाई क्लिन चिट भनिरहेका छन् ।
यसैबीच पार्टी सभापति लामिछाने विरुद्ध पक्राउ पूर्जी जारी भएको हल्ला फैलिएपछि उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा चीन पुगेको रास्वपा टोली फिर्ता हुने भएको छ। यो सबै कुराले रवि माथिको खड्को अझै टरेको देखिन्न। पार्टी कार्यालय पुगेको प्रहरीले पक्राउ गर्न आएको हो वा होइन भन्ने जानकारी नगराएपनी प्रहरीको बाक्लो उपस्थितिलाई रास्वपाले गम्भीर ठानेको छ।स्रोतका अनुसार अदालतको पक्राउ पूर्जी लिएर रविलाई पक्राउ गर्न सकिने अझैपनी प्रहरी प्रयास छ।