सप्तऋषिको पूजा गरी आज ऋषिपञ्चमी पर्व मनाइँदै
काठमाडौं, २३ भदौ । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले सप्तऋषिको पूजा गरी मनाउँदैछन् ।
ऋषि पञ्चमीको दिन सप्त ऋषिको पूजा आराधना गर्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । यही विश्वासका साथ देशभरका पवित्र नदी, तालतलैया किनारमा पूजा गर्नेहरु भेला भएका छन् ।
महिलाले आज विहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्ने गर्दछन् ।
हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।
आज स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।
सप्तऋषिको पूजा गरेसँगै तीज व्रत समाप्त भएको मान्यता छ ।