पशुपति आउँदा गरगहना नलगाई र बालबालिका नलिइ आउन कोषको अनुरोध
काठमाडौं, २० भदौ । हरितालिका तीजको अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीहरुलाई महंगा गरगहना नलगाइ र साना बालबालिका नलिइ आउन पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।
शुक्रबारको हरितालिका तीजको व्यवस्थापन सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कोषले पशुपतिनाथ दर्शन गर्न आउँदा उक्त कुराहरुको ख्याल राख्न आग्रह गरेको हो । भीडभाडमा गरगहना चोरी हुने, हराउने डर हुने भएकाले गरगहनाले सजिएर नआउन आग्रह गरेको पशुपति विकास कोषले जनाएको छ ।
‘विगतमा वर्षका गरगहना चोरी भएको हराएको गुनासो धेरै आएकाले यसवर्षदेखि सार्वजनिक रुपमै गरगहना लगाएर नआउन अपील गरेका हौं । महंगा गरगहना हराएमा स्वयम व्यक्तिलाई मात्र नभई उसको परिवारलाई समेत मानसिक असर पर्ने भएकाले सर्तकता अपनाउन भनेका छौं ‘, कोषका प्रवक्ता रेवतीरमन अधिकारीले भने, ‘साथै मंहगा सारी लगाएर आउँदा बत्ति बाल्ने क्रममा आगोले भेट्दा ठूलो नोक्सानी पुग्छ । त्यसकारण धूपबत्ती गर्ने क्रममा ध्यान दिनुहोला । आफ्नो कपडामा सल्कन सक्छ । पोल्न सक्छ ।’
हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले दर्शनको व्यवस्थापन, सुरक्षा, स्वयंसेवक परिचालन, ट्राफिक,पार्किङ स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी पूरा भइसकेको जनाएको छ ।