आजैदेखि नेपालमा टिकटक चल्ने

काठमाडौं । सरकारले सामाजिक संजाल टिकटक माथीको प्रतिबन्ध हटाउने भएको छ।आज बस्ने मन्त्रीपरिषद बैठकमा संचार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक प्रतिबन्ध हटाउने प्रस्ताव पेश गर्ने र त्यसपछि टिकटक चल्ने छ।
सरकारले बिहिबारबाट चल्ने गरी सामाजिक संजाल टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका एक नेताले जानकारी दिए।उनका अनुसार संचार मन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने मन्त्रीस्तरको निर्णय गरिसकेका छन् । मन्त्रीस्तरमा भएको प्रतिबन्ध हटाउने निर्णयलाई बिहीबार नियमित बस्ने क्याबिनेट बैठकमा पेस गरिने छ । त्यस लगत्तै २०८० कात्तिक २७ देखि बन्द रहेको टिकटक चल्ने छ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकले सामाजिक द्वेष फैलाएको र मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकबाटै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

त्यसपछि टिकटकले पटकपटक लिखित पत्र लेखेर नेपालका सबै कानुन र शर्त मान्ने लिखित प्रतिबद्धता जनाएर प्रतिबन्ध हटाउन माग गर्दै आएको थियो । चिनियाँ राजदूत छन सोङले पनि हरेकजसो राजनीतिक भेटवार्तामा टिकटकको प्रतिबन्धबारे चासो राख्दै आएका थिए ।

पछिल्लो पटक टिकटकले सञ्चारमन्त्री गुरुङलाई सम्बोधन गरेर प्रतिबन्ध फुकुवा गरिदिन अनुरोध सहित पत्र पठाएको थियो ।प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा मंगलबार सरकारले टिकटक खुला गर्ने विकल्पबारे कम्पनीका नेपाल प्रतिनिधि लगायतसँग परामर्श अघि बढाएको थियो । बन्द भएको समयदेखि टिकटकले प्रतिबन्ध फुकुवाको माग गर्दै सरकारलाई ८ वटा पत्र पठाइसकेको छ । सरकारको सो निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै टिकटक प्रतिबन्धको विषयमा सर्वोच्च अदालतमा छुट्टाछुट्टै १४ ओटा रिट दायर भएका थिए ।

यी सबैलाई एकमुष्ट हेर्ने गरी अदालतले आगामी असोज १० का लागि पेशी तोकेको छ । गुगल, एप्पल, मेटा, अमेजन, याहु, लिंक्डइन, राकुटेन, स्पटिफाई जस्ता सामाजिक सञ्जाल कम्पनीहरूको प्रतिनिधि संस्था एसिया इन्टरनेट कोअलिसन (एआईसी) ले उचित कानुनी प्रावधानबिना नेपाल सरकारले टिकटकमा प्रतिबन्ध र अन्य एपमा पनि निगरानीको तयारी थाल्नु अन्तर्राष्ट्रिय अभ्यासविपरीत भएको भन्दै पत्र पठाएको थियो ।

टिकटक सन् २०१९ को सुरुदेखि टिकटक सबैभन्दा बढी डाउनलोड हुने एपहरूको सूचीमा छ । टिकटक माथि छिमेकी भारत लगायत विश्वका विभिन्न देशमा प्रतिबन्ध लगाइएको छ । अमेरिकामा गत चैतमा टिकटकलाई स्वामित्व बिक्री वा प्रतिबन्ध लगाउने कानुनको पक्षमा ३२६ र विपक्षमा ६५ सांसदहरूले मतदान गरेका थिए । अमेरिकी संसद्को पछिल्लो कानुनले बाइटडान्सलाई आफ्नो टिकटक स्वामित्व बिक्री गर्न १६५ दिनको समय दिने प्रस्ताव गरेको थियो ।

झन्डै १५ करोड अमेरिकिले टिकटक चलाउने र औसत एक घण्टा सो एपमा बिताउने गरेको विभिन्न तथ्यांकले देखाएका छन् । विश्वव्यापी रूपमा झन्डै एक अर्ब सक्रिय प्रयोगकर्ता रहेको सो एपको स्वामित्व राख्ने कम्पनी बाइटडान्सको कूल बजार मूल्य सन् २०२३ को अन्त्यमा झन्डै दुई खर्ब २३ अर्ब डलर पुगेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय