जसले बीमाको रकम पाउन आफ्नै पसलमा आगो लगाए !
पोखरा, २१ साउन । पछिल्लो समय नेपाली समाजमा अकल्पनीय घटनाहरु घट्दै आइरहेका छन् । हत्या, हिंसा, आक्रमण, चोरी डकैतीका घटना नेपालमा बढ्दै गएको छ । केहीले आफ्नो स्वार्थ पूरा गर्न अरुलाई दुःख दिने गर्छन् भने केहीले आफैंमाथि क्षति पुर्याएर लाभ लिने सोच्छन् ।
यस्तै कुराको जोगन्त उदाहरण पोखराको एक घटनाले देखाएको छ । एक व्यक्तिले बीमाको रकम पाउने लोभले आफ्नै करोडौं रुपैयाँ बराबरको सपिङ सेन्टरमै आगो लगाए । त्यसबापत उनले बीमाको रकम चाहिँ होइन तर अब कानुनी कारवाहीको स्वाद चाहिँ पक्कै पाएका छन् ।
गत साउन १६ गते विहान पोखरा–६ लेकसाइडमा रहेको मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भएको थियो । स्याङ्जाको आँधिखोला गाउँपालिका – ४ का सुजन गहतराजले विगत चार वर्षदेखि सञ्चालन गर्दै आएको मदिरा तथा किराना सामग्री पाइने सपिङ सेन्टरमा भएको आगोलागीबाट डेढ करोड रुपैयाँको क्षति भएको प्रहरीले निष्कर्ष निकाल्यो ।
घटनापछि उनले इन्भर्टर सर्ट भएर आगो लागेको प्रहरीसमक्ष बताए । तर इन्भर्टर शर्ट हुँदैमा त्यत्रो क्षति हुने कुरा प्रहरीलाई त्यति पचेन । शंका लागेपछि प्रहरीले अनुसन्धान थाल्यो । सोही क्रममा व्यवसायमा निरन्तर घाटा हुन थालेपछि बीमाको रकम हत्याउने उद्देश्यका साथ आफैंले आगो लगाएको तथ्य प्रहरीले पत्ता लगायो ।
आगलागीको घटनापछि प्रहरीले इन्भर्टर विशेषज्ञ तथा नेपाल विद्युत प्रधिकरणका प्राविधिक टोलीसँग गएर बुझ्दा इन्भर्टर शर्ट भएर त्यस्तो आगो नलाग्ने कुरा आयो । र उक्त पसलको इन्भर्टर शर्ट नै नभएको कुरा खुल्यो । आफैंले आगो लगाएको हुनसक्ने प्रहरीको शंकाअनुरुप पुनः गहतराजलाई सोधपुछ गर्दा उनले पसलको बीमा नगरेको सुनाए । तर त्यसको दुई दिनपछि हिमालयन इन्सुरेन्समा बीमाको दाबी गर्दै निवेदन दिए ।
त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर केरकार गर्दा उनले आफैंले पसलमा आगो लगाएको स्वीकारेका हुन् । पछिल्लो समयमा पसल सोचेअनुरुप नचलेको, सामान पनि ठूलो मात्रामा स्टक रहेको, घर भाडा लगायत आर्थिक विषयमा केहीसँग विवाद रहेको र आर्थिक व्यवहार बिग्रिँदै गएपछि बीमाको रकमबाट मिलाउने उद्देश्य सहित आफैंले पसलमा आगो लगाएको उनको बयान छ ।
आगो लगाउने बारेमा उनले केही समयअघि आगलागीबाटै बीमाको रकम पाएका साथीको सहयोग लिए । पोखरामा पोल्ट्री फार्मको व्यवसाय गर्दै आएका पवन नेपालले गत वर्ष नै आगो लागेर ३१ लाख रुपैयाँ बीमा रकम लिएका थिए । उनकै सुझावमा गहतराजले आफ्नै सपिङ सेन्टरमा आगो लगाउने र बीमा वापतको रकम ल्याएर आर्थिक व्यवहार मिलाउने योजना बनाए ।
घटना भएको दिन स्प्रिट किनेर ल्याइ गहतराज पसलबाट बाहिरिएको र त्यसपछि पवन नेपालले आगो लगाएर निस्किएर हिँडेका थिए । आगलागीबाट सपिङ सेन्टरभित्र रहेका सामानहरु पूर्णरुपमा जलेर नष्ट भए ।
प्रहरीले अहिले पसल सञ्चालक गहतराजा र सहयोगी नेपाललाई नियन्त्रणमा लिइ दुवै जनालाई आर्थिक अपराध र जालसाझी सम्बन्धी मुद्दा चलाएर जिल्ला अदालतमा ७ दिनको म्याद थप गरिएको छ । यस कसुरमा २ देखि ५ वर्षसम्म कैद र २० हजारदेखि ५० हजारसम्म जरिवाना हुनसक्ने छ ।