बागमतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत नदिने

काठमाडौं, ४ साउन । नेपाली कांग्रेस बागमती प्रदेशका सांसदहरूले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत नदिने भएका छन् । माओवादी नेता जम्मकट्टेलले आइतबार विश्वासको मत लिने कार्यक्रम छ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्व र प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाको आतिथ्यमा शुक्रबार बसेको प्रदेश कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको नेपाली कांग्रेस बागमती प्रदेश समितिका प्रबक्ता तिलक रुवालीले जानकारी दिए।
बैठकले बर्तमान मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिन गरेको प्रस्तावको विपक्षमा मतदान गर्ने र त्यसपछि उत्पन्न परिस्थिति अनुसार कांग्रेसकै नेतृत्वमा सरकार निर्माणमा भुमिका खेल्ने निर्णय गरेको प्रदेश प्रबक्ता रुवालीले बताए। माओवादी नेता जम्मकट्टेलले आइतबार प्रदेश सभाबाट विश्वासको मत पाउने संभावना ‘शुन्य’ छ । कहिले कांग्रेस र कहिले एमालेको सहयोगमा मुख्यमन्त्री रहदै आएका जम्मकट्टेल अहिले अल्पमतमा छन् ।
पछिल्लो राजनीतिक समीकरण अनुसार बागमतीको मुख्यमन्त्री नेपाली कांग्रेसको भागमा परेको छ। यहाँ कांग्रेस प्रदेश सभापति बानियाँ र संसदिय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्रीका दावेदार हुन् । बानियाँ मकवानपुर र लामा नुवाकोटबाट सांसद छन् । बागमतीमा नेपाली कांग्रेसले पहिलोपटक सरकारको नेतृत्व गर्न लागेको हो। यसअघि डोरमणी पौडेल र अष्टलक्ष्मी शाक्य एमालेबाट र राजेन्द्रप्रसाद पाण्डे नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री भैसकेका छन् ।

