अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार
एजेन्सी, ३० असार । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको हो ।
गोली लागे पनि उनी हाल खतरामुक्त र सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको काननेरबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्याएका थिए ।
प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको थियो । ट्रम्पमाथि गोली चलाउने व्यक्तिलाई सुरक्षाकर्मीले गोली हानेर मारेका छन् ।
यसैबीच वर्तमान राष्ट्रपति जो बाइडेनले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गरेका छन् । ट्रम्पमाथि गोली चलेको समय बाइडेन डेलाभेयरमा थिए । चर्चबाट बाहिरिने क्रममा मिडियाकर्मीलाई प्रतिक्रिया दिँदै बाइडेनले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गरेका हुन् ।